भाइरल ज्वरोले ८ को मृत्यु: छिमेकी गाउँले डराउन थाले | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

मुगु, १६ मंसिर । खत्याड गाउँपालिकामा एक महिनादेखि फैलिएको भाइरल ज्वरोका कारण आठ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण सयौं स्थानीय प्रभावित भएका छन् । भाइरल ज्वरोले यही साता रिघा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय विष्णु जैसी, ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिककी ५५ वर्षीया पूर्वा कार्कीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

भाइरल ज्वरोबाट कात्तिकमा सेरी साटबाडका ५९ वर्षीय सिंहबहादुर बुढा, खमाले कवाकी ४२ वर्षीया मागी रोकाया, पैखुगाउँका ५६ वर्षीय धनसिंह थापा र ६५ वर्षीय दलसुर थापाको मृत्यु भएको थियो । करिब डेढ सय घरधुरी रहेको रिघाका बासिन्दा भाइरल ज्वरोबाट प्रभावित बनेका छन् । सबै घरमा बिरामी देखिएपछि छिमेकी गाउँका बासिन्दा त्यहाँ जान डराउन थालेका छन्।

‘बिरामी कुर्ने मान्छे छैनन् । सबै ज्वरोले पल्टिएका छन्,’ रिघा गाउँकी कुसुमकली हमालले भनिन्, ‘औषधि किन्ने रकम अधिकांशसँग छैन। अरूले ल्याइदिँदैनन् । हामी गरिबलाई ज्यान बचाउन मुस्किल भयो।’