भक्तपुर। भक्तपुरका प्रायः सबैजसो जात्रापर्व सभ्य, सुसँस्कृत र भव्य हुने गर्छन् । तर, हरेक वर्ष साउन कृष्णपक्ष चतुर्दशी (अर्थात आज) परेकाे घण्टाकर्ण पर्व भने अलि भिन्न छ । यस पर्वमा पुरुष यौनांग (लिंग)लाई विशेष प्राथमिकतामा दिएर मनाइन्छ।
परम्पराअनुसार भक्तपुरका दोबाटो, चौबाटोहरूमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङ्लो लगायतले घण्टाकर्ण (स्थानीय नेपाल भाषामा गथामग) बनाइन्छ । यो घण्टाकर्ण बनाउँंदा पुरुषको लिङ्गलाई विशेष प्राथमिकतामा राखेर बनाइन्छ । लामो, मोटो, ठूलो लिंगको आकार बनाइन्छ । लठ्ठीमा पराल बेरेर लिंगकाे आकार दिइन्छ । साथै, यौनसम्पर्क गर्दा विर्य झरेको संकेतको रुपमा सेता कपास झुण्ड्याइन्छ ।साँंझ बनाइएको घण्टाकर्ण अर्थात गथामगलाई साँंझै दाहसंस्कार गरी पर्व समापन गरिन्छ । यसक्रममा टोलटोलमा एक सयभन्दा बढी गथांमुगको दाहसंस्कार गरिन्छ । यिमध्ये भक्तपुरको दतात्रयमा गरिने दाहसंस्कार सबैभन्दा बढी आकर्षक मानिन्छ । टोलटोलमा स्थानीयस्तरमा नर्कट, छ्वाली, पराल संकलन गरी संकलित नर्कट, छ्वालीबाट तीनखुटे गथामग बनाइन्छ । घरमा फाल्नुपर्ने पुरानो नाङ्लोमा मुख, नाक, कानलगायतका ज्ञानेन्द्रिय अंग लेखी हाँंडीको टाउको दिइएको हुन्छ।
टोलबासी मिलेर साँंझ टोलटोलमा गथामग बनाएपछि त्यसलाई बोकेर दाहसंस्कारका लागि लिएर जान्छन् । सहभागी सयौं छ्वालीको राँको बालेर दाहसंस्कारमा सहभागी हुन्छन् । टोलटोलमा बनाएको गथामगलाई टोलबाट पूर्वतर्फकाे नजिकैको दोवाटो, चौबाटोमा लगेर जलाइन्छ । दाहसंस्कारबाट फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगि चोखिने चलन छ । दाहसंस्कारबाट फर्केर घर घरमा छ्वाली बालेर धुवाले घर सेक्ने चलन छ । साथै, घरको ढोकामा किला ठोकेर सम्हेबजी (भोज) खाने चलन छ । पर्वका दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर गर्ने प्रचलन छ । ईतिहासविद् डा. वीरेन्द्रप्रसाद कायस्थका अनुसार यो पर्व लिच्छविकालमै सुरु भएको थियो । नेवार समुदायको मौलिक पर्वमध्ये एक हो । वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, पिशाच चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्रै मनाउने भएकोले यसलाई नेवार समुदायको माैलिक पर्वका रुपमा लिने गरिएको छ । किम्वंदन्ती अनुसार घण्टाकर्ण भगवान विष्णुका भक्त थिए । उनी केवल भगवान विष्णुको मात्रै पूजा गर्थे । एक दिन भगवानले विष्णु, शिव र आफू एउटै भएकाले शिवको पनि पूजा गर्नु भन्दा घण्टाकर्णले मानेनन् । तब विष्णुले हरि र शंकर एउटै हो भनेर देखाउन हरिहरको रुपको दर्शन दिए, जसमा आधा विष्णु थिए भने आधा शिव । तै पनि घण्टाकर्ण सन्तुष्ट हुन सकेन । उनी बाहिर निस्केको बेला शिव शिव… भनेर जिस्क्याउँंथे । यो सुन्नुपर्ला भनेर घण्टाकर्णले आफ्नो कानमा ठूल्ठूला घण्टा झुडाएर हिड्थे ।कसैले शिवको नाम लिने बित्तिकै कानको घण्टा जोड जोडले बजाउँंथे । त्यसैले यसलाई घण्टाकर्ण भनिएको इतिहासविद् डा. कायस्थ सुनाउँंछन् । यो पर्वसँंग वैज्ञानिक कारण पनि जोडिएको छ । राेपाईपछि झारका कारण बढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने वैज्ञानिक कारण यो पर्वसँंग जोडिएको तर्क पनि छ।