तिलोत्तमा नगरसभा विवादः पत्रकारको झोलामा राखेर माइन्युट लुकाउने प्रयास | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

तिलोत्तमा नगरसभा विवादः पत्रकारको झोलामा राखेर माइन्युट लुकाउने प्रयास

बुटवल। तिलोत्तमा नगरपालिकाको नगरसभाका लागि प्रमुख प्रशासकीय अधिकृतले तयार गरेको फर्जी माइन्युट लुकाउन पत्रकारलाई समेत प्रयोग गरेको पाइएको छ ।एमालेबाट निर्वाचित ४८ जना जनप्रतिनिधिसहित बहुमत नगरसभा सदस्य उपस्थित भएको नगरसभाको माइन्युटमा भने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले उपस्थिति कम देखाएका थिए । उक्त माइन्युटमा एमालेबाट निर्वाचित ४८ जना जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिइएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । त्यसपछि नगरप्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेका थिए । उक्त नगरसभाको माइन्युटसहित मेयर, प्रमुख प्रशासकीय अधिकृतलगायतको टोलीलाई एमाले जनप्रतिनिधिहरूले नगरसभास्थल मणिग्राम पार्टी प्यालेसको हलभित्रै थुनेका थिए । त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृतले कांग्रेस निकट पत्रकारलाई प्रयोग गरी माइन्युट हलबाट बाहिर लगेर लुकाउन खोजेको उपमेयर चौधरीले बताइन् ।‘हामीले हालबाट बाहिर निस्कँदै गरेका पत्रकार यमलाल भुसालको झोलामा शंका लागि चेकजाँच गर्न खोज्यौं, उहाँले पत्रकार रेखा भुसालको झोला हो भन्नुभयो,’ उपमेयर चौधरीले भनिन्, ‘तर पनि हामीले झोला खानतलासी गरेर हेर्दा नगरसभामा प्रमुख प्रशासकीय अधिकृतले तयार पारेको दुईथरी माइन्युट भेटियो ।’ उक्त माइन्युटमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले मात्र हस्ताक्षर गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भूमिका शंकास्पद देखिएको भन्दै उपमेयरको नेतृत्वमा एमाले जनप्रतिनिधिले ज्ञवालीको कार्यकक्षमा ताला लगाएका छन् । नगरसभामा विवाद बढ्दै जाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एकपक्षीय ढंगले काम गरेको भन्दै जनप्रतिनिधिहरूले ताला लगाएका हुन् ।

तिलोत्तमा नगरपालिकाको १२औं नगर सभाको तेस्राे र चौथो बैठकको उपस्थिति र गणपूरक संख्यामा ज्ञवालीको भूमिका विवादास्पद रहेको एमाले निकट जनप्रतिनिधिहरूको आरोप छ ।उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रूपमा नगरसभाका एकैदिनका बैठकमा अलग अलग उपस्थिति गराउने गरेको आरोप लगाइन् । ‘हामीले उपस्थिति गरेको पुस्तिका गायब पारेर प्रशासकीय अधिकृत ज्ञवालीको योजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको मात्रै उपस्थिति तयार गरी हस्ताक्षर गराएकाले नैतिक हिसावले अब ज्ञवाली नगरपालिकाको प्रशासकीय अधिकृत स्वीकार्य हुँदैनन्,’ चाैधरीले भनिन् ।त्यसअघि नगरसभाका क्रममा विवाद बढ्दै जाँदा सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यसक्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले स्विमिङ पुलमा धकेलिदिएका थिए । डिएसपी केसीले भने यो राजनीतिक विषय भएको र प्रहरी शान्ति सुरक्षाका लागि मात्र खटिएको भन्दै कुनै नियतवश त्यसो नभएको र सामान्य धकेलाधकेल हुँदा वडाध्यक्ष क्षेत्री स्विमिङ पुलमा खस्न पुगेको बताए । एमाले प्रदेश सदस्य मोहन चापागाईले गृहमन्त्रीको गृहनगरमा भएको ताण्डव नृत्यले तिलोत्तमावासीलाई आश्चर्यमा पारेकाे बताए । “प्रशासनको आडमा भएको यो खालको गलत कामले नगरलाई कहाँ पुर्‍याउँछ, गृहमन्त्रीको आडमा यस्ता दम्भले नगरको विकास गर्दैन, दोषीलाई तत्काल कारबाही गरियोस्”, उनले भने । नगर प्रमुख रामकृष्ण खाँणले भने बजेटका विषयमा अनावश्यक राजनीति गर्न खोजिएको बताए । फर्जी माइन्युट तयार गरिएको आराेपलाई पनि उनले अस्वीकार गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);