काठमाडौँ, १३ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको क्रममा खटिएका शिक्षक टंक गौतम, कार्यालय सहयोगी लेखनाथ निउरे, म्यादी प्रहरी विनोद चौधरी र मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको निधन भएकोमा निर्वाचन आयोग गहिरो दुःख प्रकट गरेको छ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका सिद्धेश्वर मावि मतदान केन्द्रमा खटिएका निमावि शिक्षक टंक गौतम निर्वाचनपश्चात् घर फर्किने क्रममा बाटोमा नै मृत अवस्थामा फेला परेका थिए।
मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका वडा नम्बर २ छोसेर स्थित दिव्यदीप मावि छोसेर मतदान स्थलमा खटिएका कार्यालय सहयोगी लेखनाथ निउरेको मंसिर १२ गते बिहान निधन भएको आयोगले जनाएको छ । उनी मतपेटिकासहित जोमसोम आउँदा अचानक बिरामी भई जोमसोम अस्पतालमा सामान्य उपचार पश्चात् फिर्ता भएका थिए । १२ गते बिहान पुनः बिरामी भई अस्पताल ल्याउँदा उनलाई मृत घोषणा गरिएको थियो ।
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ तुलसी बोर्डिङ स्कुल नजिकको चोकमा अज्ञात समूहले विस्फोट गराउँदा सोही नगरपालिका वडा नं. १८ बस्ने २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारको क्रममा १३ गते राती २ः२५ बजेतिर निधन भएको छ । सो घटनामा परी गम्भीर घाइते पाँचजनाको उपचार भइरहेको छ ।
संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ८ मावादिन बस्ने मतदाता शिक्षा कार्यकर्ता (जिल्ला समन्वय समितिका सामाजिक परिचालक) आनन्द गुरुङको मंसिर ८ गते सरस्वती मावि मतदान स्थलबाट फर्कने क्रममा अचानक लडेर बेहोश भएपछि स्थानीय स्तरमा प्राथमिक उपचार गर्दा गर्दै निधन भएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले स्वर्गीय गौतम, निउरे, चौधरी र गुरुङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । यसैगरी शोक सन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै आयोगले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।