जनकपुर, ६ मंसिर । साथीको हत्या गरी त्यसलाई दुर्घटनाको रुप दिन खोजेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शनिबार मिथिलानगर नगरपालिका–३, लालभित्तीस्थित यात्रु प्रतिक्षालय नजिकै सडक छेउ एक युवाको शव फेला परेको थियो। उक्त शव मिथिलानगर-२ का प्रदीपकुमार ठाकुरको रहेको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।
३२ वर्षीय वीरेन्द्र ठाकुर, २२ वर्षीय मनोजकुमार महरा र सुनील ठाकुरले घाँटी थिचेर उनको हत्या गरी दुर्घटनाको रुप दिन खोजेको देखिएको असइ किस्मत भण्डारीले जानकारी दिए । अभियुक्त वीरेन्द्र र मनोज प्रहरी नियन्त्रणमा छन् भने सुनिल फरार छन् । हत्याका अभियुक्तमध्ये वीरेन्द्र वैदेशिक रोजगारीका लागि एजेन्ट रहेको खुलेको छ।
मृतक प्रदीप सिन्धुलीमा एक सैलुनमा काम गर्थे। वीरेन्द्रले एक व्यक्तिलाई विदेश पठाउन ‘अन्तरवार्ताको शुल्क’ भन्दै १० हजार रुपैयाँ लिएका थिए। तर, उनले ती व्यक्तिलाई विदेश पठाउन सकेनन्। प्रदीपले रकम फर्काउन दबाब दिन थालेपछि अन्य साथीसँग मिलेर वीरेन्द्रले उनको हत्या गरेको बयान अभियुक्तले दिएका छन्। – अन्नपूर्ण पोस्ट दैनिकबाट




