लुम्बिनीमा संस्थापन समूह तालमेलको तयारी गर्दैः इतर समूह भन्छ- चुनावी गठबन्धन अस्वीकार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनीमा संस्थापन समूह तालमेलको तयारी गर्दैः इतर समूह भन्छ- चुनावी गठबन्धन अस्वीकार्य

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संस्थापन इतर समूह चुनावी गठबन्धनको विपक्षमा देखिएको छ । प्रदेशका कतिपय जिल्लामा चुनावी गठबन्धनको तयारी भइरहेका बेला कांग्रेसको संस्थापन इतर समूहले भने आफूलाई गठबन्धनको विपक्षमा उभ्याएको हो ।

लुम्बिनी प्रदेशका कतिपय जिल्लामा गठबन्धन गरेर चुनाव लड्ने तयारी भइरहेका बेला संस्थापनइतर समूहको यस्तो धारणा आएको हो । अर्घाखाँचीमा पाँच दलले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेका छन् भने रुपन्देहीमा चुनावी तालमेलका लागि संयन्त्र गठन गरिएको छ ।

तर यसमा देउवा समूहका नेता मात्रै सहभागी छन् । रुपन्देहीमा संयन्त्र गठन गर्ने बैठकमा पनि संस्थापन निकट नेता मात्रै सहभागी थिए । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस कमजोर हुने बताए । “कांग्रेस कमजोर हुनेगरी गरिने गठबन्धन हामीलाई स्वीकार्य छैन,” उनले भने ।

सभापति पुनले कांग्रेस एक्लै चुनाव लड्दा पनि दुई तिहाइ स्थानीय तह जित्ने दाबी गरे । यद्यपि स्थानीय तहका पार्टी तहका कमिटीले निर्णय गरेमात्रै तालमेल सम्भव हुने उनको भनाइ छ । “यसको जिम्मा पालिका कमिटीलाई नै छोडिदिनुपर्छ, कसैले निर्णय लादेको भरमा तालमेल सम्भव छैन,” उनले भने ।

कार्यकर्ताको भावनाविपरीत तालमेल गरिए अनपेक्षित परिणाम आउने पनि उनले चेतावनी दिए । “आमकार्यकर्ताको चाहना तालमेल नहोस् भन्ने छ, कार्यकर्ताको भावनाविपरीत अघि बढ्न खोजिए नसोचेको परिणाम आउँछ,” सभापति पुनले भने ।

नेपाली कांग्रेस बुटवल उपमहानगर कमिटी सदस्य खेलराज पाण्डेले जिल्लामा गठबन्धनको संयन्त्र गठन भएकोबारे आफूलाई जानकारी नभएको बताए । संस्थापनइतर समूहका नेता पाण्डेले भने, “म काठमाडौंमा थिएँ, तालमेलका लागि संयन्त्र गठन भएकोबारे मलाई जानकारी भएन ।” कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले पार्टीलाई कमजोर पार्ने भूमिका कसैले खेल्न नहुने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);