भरतपुर महानगरको मेयरमा सकारात्मक सोच मात्र भेटेँ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

भरतपुर महानगरको मेयरमा सकारात्मक सोच मात्र भेटेँ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल प्रशंसा गरेका छन् । भरतपुर महानगरको नयाँ प्रकासकीय भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेयरमा सकारात्मक सोच मात्रै भेटेको बताए ।

‘मैले भरतपुर महानगरपालिकाको मेयरको दिमागमा जतिबेला पनि भरतपुर महानगर र त्यो परिवारप्रति जहिले पनि सकरात्मक सोच मात्र भेटेँ’, उनले भने । कांग्रेस र एमालेका जनप्रतिनिधिले समेत गरेको सहयोग र सकारात्मक सोचका कारण महानगरको विकासले तीव्रता पाएको उनले बताए । 

भरतपुर महानगरपालिकालाई छिमेकी देशहरूले विशिष्ट महानगरको रुपमा हेरेको समेत उनले बताए । ‘हाम्रो छिमेकीदेखि टाढा–टाढाका मित्रहरुले पनि भरतपुरलाई विशिष्ट महानगरको रुपमा हेरेका छन्’, उनले भने ।  

स्थानीय तह र प्रदेश तथा संघको चुनावमा फरक पार्टीसँग गठबन्धन गर्नुपरेको परिस्थितिमा समेत भरतपुर महानगरको टिम अक्षुण रहेको उनले बताए । राष्ट्रिय राजनीतिकमा उतारचढाव आइरहे पनि भरतपुर महानगरकी मेयरले टिमलाई एकढिक्का बनाइराख्न भूमिका खेलेको भन्दै उनले आफ्नी छोरीको प्रंशासा गरे । 

शिलान्यास कार्यक्रममा बोल्ने केहि वक्ताले महानगरमा देखेको विकासको बारेमा पनि बोल्न हिच्किचाएको भन्दै उनले भने, ‘केहिले त यो भएन पो भन्न थाल्नुभो । झण्डै ४१ किमी रिङ रोड बनिसक्या छ । बन्दै बनेन पो भन्नुभो । भनेपछि साथीहरूलाई चुनाव लागेछ । विकास लागेनछ ।’

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद समेत रहेका प्रचण्डले ९४ करोड ३२ लाख ३० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । सात कठ्ठामा निर्माण हुने ६ तले नयाँ प्रशासनिक भवन आगामी साढे दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रशासनिक भवनको लागि प्रदेश सरकारले सम्झौता रकमको ५० प्रतिशत स्रोत सुनिश्चितता गरेको प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । अर्थ मन्त्रालयबाट पनि ३५ करोड रुपैयाँको सुनिश्चितता भएको उनले बताए ।

अपुग रकम महानगरले व्यहोर्ने उनले बताए । १४ हजार १५२ वर्गमिटर क्षेत्रफलको हुने भवनमा दुई वटा लिफ्ट, ज्येष्ठ नागरिक प्रतिक्षालय कक्ष, सांस्कृतिक प्रदर्शनी कक्ष र सभाहल निर्माण हुने उनको भनाइ छ । भवन अपांगमैत्री, प्रविधिमैत्री र सेवाग्राहीमैत्री हुने उनी बताउँछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);