पैसा तिर्दा पनि नउठ्ने फोहोर बिक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पैसा तिर्दा पनि नउठ्ने फोहोर बिक्री

पोखरा । पोखरामा ६ दिनदेखि फोहोर उठेको छैन । ल्यान्डफिल साइट क्षेत्रका प्रभावित नागरिकले आफ्ना माग सम्बोधन नगरेको आरोपसहित सडक बन्द गरिदिएपछि पोखरा दुर्गन्धित बनेको छ । महानगर पटक पटक वार्तामा बस्ने, सम्झौता गर्ने तर कार्यान्वयन गर्न नसकेको भन्दै स्थानीय आन्दाेलित भएका हुन् ।

आफ्नो क्षेत्रमा सडक राम्रो नबनाएको, स्वास्थ्यचौकी नबनाएकोलगायत समस्या उनीहरूले राख्ने गरेका छन् । आफ्नो घरको फोहोर फाल्न पोखरेलीले सरकारलाई पैसा पनि तिर्छन् । व्यवसाय र घरको कोठा हेरेर फोहोर शुल्क लिने गरेको पोखराले राम्रो सेवा भने दिन सकेको छैन । सातामा मुस्किलले एकपटक फोहोर लिने गाडी पठाइन्छ । त्यसमाथि धेरै जागिरे भएका कारण महानगरले पठाएको गाडी भेट्न सकिँदैन ।

पोखराको फोहोर १४ नम्बर वडामा रहेको ल्यान्डफिल साइटमा लगेर थुपारिन्छ । कुहिने नकुहिने सबै फोहोर एकै ठाउँमा राख्दा ल्यान्डफिलको आयु लगभग सकिएको छ । ‘ल्यान्डफिल करिब करिब भरिएको छ । अब नयाँ ठाउँको खोजी गर्नुपर्छ,’ ल्यान्डफिल साइट इन्चार्ज नेत्र तिमल्सिना भन्छन्, ‘फोहोर वर्गीकरण गरेको भए केही वर्ष अझै चल्न सक्थ्यो ।’

पोखरेलीले कुहिने र नकुहिने सबै फोहोर एउटै पोको बनाएर कन्टेनरमा पठाउँछन् । कहिलेकाहीँ यहाँको फोहोरबाट बिजुली निकाल्नेदेखि ब्रिक बनाउनेसम्मका योजना पोखरा महानगरले बनायो । तर कुनै पनि योजना टुंगोमा पुगेन र फोहोरको दीर्घकालीन व्यवस्थापन अघि बढ्न सकेन । बरु पोखरामै केही सहकारीले नकुहिने फोहोरको व्यवस्थापनमा नयाँ प्रयोग सुरु गरेका छन् ।

पोखरा-१६ अर्मलामा रहेको ग्रीन भ्याली सहकारीले नागरिकसँग फोहोर किनेर बेच्न थालेको हो । ‘सडकका छेउछेउमा फोहोर छ । तीमध्ये ७० प्रतिशत फोहोर नकुहिने खालको छ,’ सहकारीका अध्यक्ष प्रकाश आचार्यले भने, ‘नकुहिने फोहोर छुट्याइदिएको भए हामी लिन्थ्यौं ।’

उनले सबैका घरघरै पुगेर नकुहिने फोहोर संकलन गर्न सकिने बताए । ‘हामीसँग दैनिक तीन टन फोहोर उठाउन सक्ने क्षमता छ । तर फोहोर छुट्याइदिनुपर्छ,’ उनले भने, ‘पैसा तिरेर पनि सफासँग बस्न नपाएको पोखरेलीको फोहोर हामी पैसा दिएर किन्छौं ।’

सहकारीले गएको एक वर्षदेखि फोहोर संकलन गर्न थालेको हो । दैनिक एक टन फोहोर संकलन गर्दै आएको उनले बताए । सहकारीले प्लास्टिक प्रतिकेजी ८ रुपैयाँ, कागज प्रतिकेजी १० रुपैयाँ, फलाम प्रति केजी ४० रुपैयाँ, कपडा प्रति केजी ४, तामा प्रति केजी ६ सय ५० रुपैयाँ र वियरको बोतल प्रतिगोटा ५० पैसामा खरिद गर्ने गरेको छ ।

सहकारीमा एक सय ४३ जना सेयर सदस्य छन् भने ५० लाख पुँजी संकलन भएको छ । पोखराबाट मासिक ४० करोडको कवाडीजन्य वस्तुको ब्यापार भइरहेको छ । मेटलबाहेक कवाडीजन्य सामग्रीबाट आठ करोडको ब्यापार हुने गरेको छ । अहिलेको फोहोर संकलन प्रणालीलाई सुधार गर्न सके अझै धेरै कारोबार हुने बताइएको छ ।

ग्रीन भ्यालीजस्तै फोहोरको कारोबारका लागि पोखरामा थप दुईवटा सहकारी पनि स्थापना गरिएका छन् । शीतलादेवी र रामबजारमा नयाँ सहकारी दर्ता भएर कवाडी संकलनको काम सुरु गर्ने तयारी थालेका हुन् । केही समयअघि प्लाष्टिकबाट सडक पिच गर्ने अभ्याससमेत पोखरामै भएको थियो ।

अहिले पोखराको टाउको दुखाईको विषय बनेको छ ‘फोहोर’ । पाेखराबाट दैनिक एक सय १० टन फाेहाेर उत्पादन हुन्छ । त्यसकाे सबैजसाे ल्यान्डफिलमा लगिन्छ । पाेखराले फाेहाेर व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रमअनुसार निजी क्षेत्रलाइ ठेक्कामा दिएकाे छ । उक्त कम्पनीहरूले नगरवासीबाट उठाएकाे रकममध्ये ८० प्रतिशत आफू राखेर २० प्रतिशत मात्रै नगरपालिकालाई दिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);