१ फाल्गुन, काठमाडौं । नेपालका प्रमुख पर्यटकीय गन्तब्यहरु मध्ये एक प्रमुख गन्तव्य हो चितवन । विश्वमै वाइल्ड लाइफ पर्यटनका लागि समेत चर्चित रहेको चितवन राष्टिय निकुञ्जले नेपाली पर्यटनलाई विश्वव्यापी बनाउन निक्कै मद्दत गरेको छ ।
तर केहि नीतिगत सुधार र प्रचार प्रसारको अभावमा अझै पनि चितवन राष्ट्रिय निकुञ्जलाई वाईल्ड लाईफ टुरिजमका रुपमा विकास गर्न सकिएको छैन ।
विश्व सम्पदा सुचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्ज वि.स २०३० सालमा स्थापना भएको हो । ९ सय ३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो निकुञ्ज नेपालकै पहिलो राष्टिय निकुञ्जको रुपमा स्थापना भएको हो । सन् १९८४ मा विश्व सम्पदा सूचिमा समेत सूचिकृत भए पछि यो निकुञ्जमा विश्वभरका पर्यटकहरुको रोजाइमा पर्न थालेको हो । यो निकुञ्ज दुर्लभ एक सिंगे गैंडाका लागि विश्वभर प्रख्यात रहेको छ ।
त्यस्तै राप्ती किनारको मनोरम दृश्य र हात्ती सयरका लागि पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्ज पुग्छन् । निकुञ्जको पहिलो यात्रा सौराहाबाट शुरु हुन्छ । चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारीका लागि सवै भन्दा धेरै विदेशी पर्यटक आउने गरेका छन् । सन् १९७७ मा निकुञ्जलाई यसको वर्तमान क्षेत्र ९३२ वर्ग किलोमिटरमा विस्तार गरिएको हो । त्यसपछि सन् १९९७ मा राप्ती नदीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिणपूर्वी सीमानामा र नेपाल भारत अन्तर्राष्टिय सिमानामा ७ सय ६६ दशमलब १ वर्ग किलोमिटरको मध्यवर्ती क्षेत्र समेत जोडिन पुग्यो ।
चितवन वाइल्ड लाईफ मात्रै नभई थारु संस्कृतीका लागि पनि आर्कषणको रुपमा लिइन्छ । वाइल्ड लाईफ, संस्कृती र अर्थतन्त्रको संयोजन नै निकुञ्जको आर्कषण हो । चालु आर्थिक वर्ष २०७३÷०७४ को मंसिर मसान्तसम्म ५० हजार नौ सय ७० जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन् । चितवन निकुञ्जलाई वाईल्ड लाईफ टुरिजमका रुपमा विकास गर्नका लागि सरकारी स्तरबाट प्रचार प्रसारको खाँंचो रहेको व्यवसायीहरुको भनाइ छ । चितवन राष्टिय निकुञ्ज भित्र रहेका ७ वटा रिसोर्टहरुलाई सरकारले सन् २०१२ मा निकुञ्जभित्रबाट बाहिरीने आदेश दिएको थियो ।
चितवन राष्टिय निुकुञ्ज विश्वव्यापी रुपमा वाइल्ड लाईफ पर्यटनका लागि पनि प्रख्यात छ । चितवन निकुञ्ज विश्वमै वाइल्ड लाईफ टुरिजमका लागि अफ्रिका पछिको दोस्रो आर्कषणको रुपमा लिइन्छ । चितवन राष्ट्रिय निकुञ्ज मुलुकमै सबैभन्दा धेरै रोयल्टी उठाउने निकुञ्जमा पर्छ ।
बार्षिक रुपमा नेपालका समग्र निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रबाट ५० करोड भन्दा धेरै राजस्व आम्दानी हुने गर्छ जसमा ६० प्रतिशत हिस्सा चितवन निकुञ्जको रहेको छ । तर पछिल्लो समय निकुञ्जको प्रचार प्रसार हुन नसक्दा वार्षिक करौडौ रुपैया राजश्व गुमाउनु परेको छ ।