झारफुककाे विश्वास गर्दा १५ वर्षदेखि ओछ्यानमा मिलन गिरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झारफुककाे विश्वास गर्दा १५ वर्षदेखि ओछ्यानमा मिलन गिरी

खोटाङ ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेका (डाँडागाउँ)का मिलन गिरी २४ वर्षका भए । हाल उच्च शिक्षा अध्ययन गरिरहेको वा कुनै न कुनै पेसा व्यवसाय अंगाल्नु पर्ने उमेरमा उनी हल न चल भएर ओछ्यानमा लड्न वाध्य छन् । १५ वर्षअघि रुखबाट लडेको चोटका कारण आफैँ ओल्टोकोल्टोसमेत गर्न नसक्ने अवस्थामा छन् मिलन । झट्ट अनुहार हेर्दा स्वस्थजस्तो देखिए पनि घाँटीमुनिका अंग सुकेर दाउरा जस्तो बनेको छ ।

मिलन बाल्यकालमा मावली घर ऐंसेलुखर्क गाउँपालिका-५ महेश्वरीमा बस्थे । कक्षा २ मा अध्ययनरत् रहेको बेला उनी २०६२/०६३ मा दुधिलोको घाँस काट्न रुखमा चढेको अवस्थामा लडेर जमिनमा बजारिन पुगे । जमिनमा बजारिँदा मिलनको कम्मरमुनिको भाग चल्न छाड्यो । ठमठम कुद्दै घाँस काट्न गएका मिलन यता उता सर्न पनि घस्रनुपर्ने अवस्थामा घर फर्किए । उनी उभिन सक्दैनथे । कमजोर आर्थिक अवस्थाका कारण उनलाई स्वास्थ्य संस्थामा उपचारमा लगिएन । बरु धामी झाँक्री लगाइए, झारफुक गरिए । तर, मिलनको मेरूदण्ड निको हुनुको सट्टा झन कमजोर बन्दै गयो । घस्रेरै दिसापिसाव गर्ने गरेका मिलनलाई मावलीबाट २०६५ सालमा घरमा लगिए । 

घरमा पनि मिलन आफैँ घस्रेर शौचालय जाने आउने गर्थे । पिँढीमा बसेर आफैँले लेखेको कविता वाचन गरेर छिमेकीलाई सुनाउँथे । उनको कविता सुनेर कतिपय आफन्त रुन्थे । तर, २०७२ सालपछि भने उनी ओछ्यानबाट उठ्न सकेका छैनन् । शरीर सुकेर निलो भएको देखिन्छ । दिसा पिसाबसमेत ओछ्यानमै गर्न बाध्य छन् । उनको दुबै खुट्टा र दाहिने हात खुम्चिएको छ । खुम्भिएको हात खुट्टा तन्किँदैन । देब्रे हात मात्र सामान्य चलाउन सक्छन् ।

उनले त्यही देब्रो हातले सुतीसुती खाना खाने गरेका छन् । मोबाइल चलाउने गरेका छन् । उनलाई माइली आमातर्फकी बहिनी मञ्जिता गिरीले हेरचाह गर्नेगरेकी छन् । कक्षा ९ मा अध्ययनरत १६ वर्षकी मञ्जिता घर व्यवहार सम्हाल्नुपर्ने भएका कारण अधिकांश कक्षा छुटाउन वाध्य छिन् । 

बुबा जीतबहादुर गिरी मिस्त्रीका काम गर्छन् । आमा नरमायाको २०६५ सालतिरै मृत्यु भइसकेको छ । नरमायाको पनि शरीर नचल्ने समस्या देखिएको केही समयपछि मृत्यु भएको स्थानीय बताउँछन् । मिलनलाई शुभेच्छुकले टिभी किनेर राखिदिएका छन् । उनले त्यही टिभि हेरेर समय कटाउने गरेका छन् । 

 लामो समयदेखि ओछ्यानमा थला परेका मिलनले २ वर्षअघिदेखि मात्र अपांगता वापतको सामाजिक सुरक्षाभत्ता पाउन थालेको स्थानीय इन्द्रबहादर गिरी बताउँछन् । उनलाई (क) वर्गको अपांगताको परिचयपत्र प्रदान गरिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);