काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत नेपालले पहिलो खेलमा विजय हासिल गरेको छ । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयो । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । जतिन्दर सिंह र अरिम कलिमले समान ९–९, खवार अलीले ७ रनमात्र बनाउन सके ।
नेपालका लागि कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १र१ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।
आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे । ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए । साथै फयाज बुट र जिसन मुक्सुदले १ र १ विकेट लिए ।




