नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकोसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन् ।

राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा बुधबार राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको ‘स्व. श्री ५ वीरेन्द्र ः एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रनिर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रूपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरेका छन् ।  सिक्किमले देशको पहिचान गुमाउँदै गर्दा राजा वीरेन्द्रले नेपाली राष्ट्रियताको जग बलियो बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको प्रसङ्ग उल्लेख गर्दै लिङ्देनले नेपालका राजा र राजसंस्थाले पटकपटक देशभक्ति प्रमाणित गरेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवं नेविसंघका संस्थापक सभापति विपीन कोइरालाले नेपालो संविधानले सबैलाई समेट्न नसकेको बताउँदै संविधान बनाउने मतियारहरू नेतृत्व तहबाट पाखा नलागेसम्म देश बन्न नसक्ने खरो टिप्पणी गरेका छन् । 

राप्रपाले महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर राष्ट्रियता, प्रजातन्त्र र धर्म संस्कृतिको रक्षाको आशा राख्ने र परिवर्तनको चाहना राख्ने जनताको ठूलो पंक्तिलाई आशा जगाएको उनको भनाइ छ । 

कोइरालाले दलीय सदस्यबाट गणतन्त्रको राष्ट्रपति चयन हुने व्यवस्था नेपालका लागि उपयुक्त नभएको बताएका  कोइरालाले नेपालमा संघीयताको खारेजी, राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना नभएसम्म देशमा स्थिरता कायम हुन नसक्ने र कालान्तरमा नेपाल सुरक्षित पनि नरहने ठोकुवा गरेका छन् ।

पूर्व जलस्रोत मन्त्री दिपक ज्ञवालीले राजा वीरेन्द्र राष्ट्र हित र जनताको अपेक्षालाई सर्वोपरि ठान्ने राजा भएको तर राजा भन्नासाथ सामन्त हुने गलत भाष्यको विकास गरेर राजसंस्थालाई बदनाम गरिएको बताएका छन् । 

ज्ञवालीले राजाहरूबाट जलस्रोतको क्षेत्रमा राष्ट्रघात नभएको तर जनताबाट निर्वाचित दल र नेताहरूबाट जलश्रोतमा गम्भीर त्रुटि भएको र त्यसले देशलाई दीर्घकालसम्म असर पार्ने उल्लेख गरेका छन् । 

नेपाल भारत सम्बन्धको विषयमा चर्चा गर्दै ज्ञवालीले नेपालले विकासको नजरबाट हेर्ने तर भारतले सुरक्षाको नजरबाट नेपाललाइ हेर्ने गरेको हुँदा यदाकदा समस्या पैदा हुने गरेको बताएका छन् ।

पूर्व सचिव द्वारिकानाथ ढुंगेलले राजा वीरेन्द्र जनचाहना अनुरुप चल्ने प्रजातान्त्रिक राजा भएको बताएका छन् । उनले विकास क्षेत्रको अवधारणाले क्षेत्रीय विकासमा योगदान दिने राजा वीरेन्द्रको प्रयास उल्लेखनीय रहेको बताएका छन् । 

कुनै पनि ठाउँमा नातावाद, कृपावाद र दलीय स्वार्थका आधारमा पात्र छनौट गर्ने र प्राथमिकता दिने अहिले खराब प्रचलन बढिरहेको अवस्थामा त्यसबेला पढेलेखेका योग्य व्यक्तिको पहिचान गरि जिम्मेवारी प्रदान गर्ने राजा वीरेन्द्रको अभाव खट्किरहने पनि ढुंगेलले बताएका छन् ।

नेपाल प्राज्ञिक परिषद्का अध्यक्ष जयन्तनाथ खनालले इतिहासका राम्रा पक्ष र राम्रा पात्रको योगदानको चर्चा गर्ने परम्पराको अन्त्य भएको गुनासो गर्दै राजा वीरेन्द्रको योगदानबारे विद्यालय र कलेजका पाठ्यक्रममा समावेश गर्न माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);