११ माघ, काठमाण्डौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)को विवाद अझै चुलिएको छ । मंगलबार दुबै पक्षले छुट्टा–छुट्टै पत्रकार सम्मेलन गरेपछि विवाद थप चुलिएको हो । सोमबार रुक्म शमशेरको नेपाल ओलम्पिक कमिटीका वरिष्ठ उपाध्यक्ष किशोरबहादुर सिंहको टोलीले ललितपुरस्थित एनओसीको भवनमा ताला लगाएकोे थियो । त्यतिबेला त्यहाँ एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ थिएनन् । एनओसीको मुख्यालयमा ताला लगाएपछि उनीहरुले अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेण्डी शेर्पाको नेम प्लेट हटाएका थिए ।
जिल्ला प्रमुख कार्यालय ललितपुरले आदेश कार्यान्वयन सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई पटक–पटक सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्न आदेश दिएको यो समेत गरी आठौं पटक थियो । तर सम्बन्धित निकायहरुले बेवास्ता गरिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरी सर्वोच्च अदालतले गरेको निर्णयलाई कार्यान्वयन गर्न माघ १० गते आदेश जारी गरेको हो । रुक्म शमशेर राणाको एनओसीका वरिष्ठ उपाध्यक्ष सिंहले हिजै देखि आफ्ना मातहतमा रहेका सम्पूर्ण खेल संघलाई ऐक्यबद्धता गर्न आग्रहसमेत गरेका छन् ।