काठमाडौँ, २२ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अस्थायी पार्किङस्थल निर्माणमा चरम लापरबाही भएको पाइएको छ। विमानस्थल कार्यालय अन्तर्गत रहेको विमानस्थल सञ्चालन शाखाको अनुरोधमा निर्माण भएको अस्थायी पार्किङमा जहाज राख्नासाथ पिच (कालोपत्रे) भत्कने गरेको छ। पिच पटकपटक भत्कन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारी बोलाएर छलफल समेत गरिसकेको छ।
एक पटक जहाज पार्किङ गरेर बाहिर निकाल्ना साथ पुनः पिच गर्नु पर्ने अवस्था सिर्जना भएको विमानस्थल कार्यालयका कर्मचारी बताउँछन् । विमानस्थल कार्यालय इन्जिनियरिङ माहाशाखाले करिब १५ लाख लगानीमा केही समय अगाडि निर्माण गरेको अस्थायी पार्किङको पिचमा समस्या देखिएको हो।
कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले पिचमा समस्या देखापरेको स्वीकार गरे । तर, निर्माण जिम्मा पाएको महाशाखा प्रमुख मुरारी भन्डारीले भने ओभर लोडका कारण पिच भत्किएको दाबी गरे। निर्माण भएलगतै महाशाखाले कार्यालयलाई साना जहाज मात्रै पार्किङ गराउन भन्दै पत्रचार गरेको उनको भनाइ छ । तर, पछिल्लो सयम श्री एयरलाइन्सले ल्याएका तीनवटा जहाज त्यही ठाउँका पार्किङ गर्दा समस्या आएको उनको भनाइ छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट