चुनावको मुखैमा बर्षमान र महराको द्वन्द्वः अरूलार्इ भोट मागे तर बर्षमानको नामै लिएनन् | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, २२ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता तथा मन्त्री कृष्णबहादुर महरा यसपटक रोल्पाबाट उम्मेदवार बन्न चाहन्थे । बाधक बने अर्का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ । उनले महराको योजना सफल हुन दिएनन् । बाध्य भएर दाङको क्षेत्र न‌ं. मा २ झरे, महरा । उनले चुनाव प्रचार थालिसके । तर, रोल्पालाई अझै पनि पहिलो प्राथमिकतामा राखेको संकेत दिइरहेकै छन् । उनी आफ्नो चुनावी क्षेत्र दाङ छोडेर सोमबार लिबाङ पुगे ।

रोल्पा नगरपालिका–१ मेबाङस्थित आफ्नो पुरानो घरबास रहेको ठाउँमा स्थापित टेक्निकल कलेज उद्घाटन कार्यक्रमको बहाना बनाएर उनी आफू यही रहेको सन्देश दिन आएका थिए । उनले भाषणमा पटकपटक आफुले रोल्पा नछोडेको अभिव्यक्ति दिइरहे । ‘म दाङबाट चुनाव लड्न थालेपनि रोल्पा छोडेको छैन । यही छु । मलाई यही भएको ठान्नुस्,’ उनले भने, ‘म यहीकै विकासमा क्रियाशील छु । चुनाव उताबाट लड्ने कुराले केही फरक पार्दैन ।’

उनले दाङबाट चुनाव लड्नु बाध्यता भएको भाव व्यक्त गरे । लिबाङमा आयोजित पत्रकार भेटघाटमा भने पुन पनि सहभागी भए । पुनको छेउमा पनि महराले आफू रोल्पामै रहेको दोहोर्‍याए । कलेज उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता महरालाई फूलमालासहित स्वागत गर्न लामबद्ध भए । एक किलोमिटरको दूरी पर्ने लिबाङ बजारमा रहेका पुन उक्त कार्यक्रममा गएनन् ।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा रहेका पुनभन्दा दाङबाट उम्मेदवार रहेका महरा बढी महत्वका विषय भए । उपप्रधानमन्त्रीको भूमिकामा सुरक्षाकर्मीको लावालस्करसहित गाउँ पुगेका महराप्रति सबैको ध्यान तानिएको थियो । प्रमुख जिल्ला अधिकारीलगायतका सरकारी अधिकारी पनि उनकै पछि लागे ।

चुनावको समयमा महरा आफ्नो क्षेत्रमा आएकोप्रति पुन सन्तुष्ट थिएनन् । महराले अनावश्यक चुनावी चलखेल गर्न थालेको पुनको आशंका थियो । कलेज उद्घाटनका क्रममा गरेको भाषणमा महराले एकपटक पनि पुनको नाम उच्चारण गरेनन् । प्रदेशसभा सदस्यका उम्मेदवार कुलप्रसाद केसी र दीपेन्द्रकुमार पुनलाई भोट मागे तर पुनबारे केही बोल्न चाहेनन् ।

रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र भएकाले यहाँको अगुवा को बन्ने भन्नेमा महरा र पुनबीच लामै संघर्ष चलिरहेको छ । पुन भने महरा रोल्पा छोडेर दाङ गइसकेको सन्देश दिन चाहन्छन् । महरा अनेक उपायले रोल्पा नछोडेको प्रमाणित गर्न खोज्छन् । उनले पोबाङमा रहेको ३० रोपनी जग्गा दान गरी टेक्निकल कलेज स्थापना गरिदिएका छन् । आफ्नै घरबारीमा रहेको कलेजको थप विकासमा निरन्तर लागिरहने बताए । ‘यो बारीमा म २५ वर्ष बसेको छु । मकै, भटमास र केराको खेती गर्थ्यौ । मेरी श्रीमतीले भैंसी पालेकी थिइन्,’ उनले भने, ‘हाम्रो जीवन सामान्य तरिकाले बितेको थियो । यो ठाउँलाई महत्त्वपूर्ण थलोका रूपमा विकास गर्न म सरकारमा हुँदा या नहुँदा पनि लागिरहन्छु ।’ उनले रोल्पामा निरन्तर जोडिइरहने उपायका रूपमा प्राविधिक कलेजलाई लिएका छन् ।

पुन पनि जिल्लाको एक्लो नेता बन्ने दाउमा छन् । यसअघि सभामुख रहेकी उनकी पत्नी ओनसरी घर्ती पनि अहिले समानुपातिक उम्मेदवार छिन् । महरालगायतका जिल्लाका अगुवा नेतालाई अन्य जिल्ला पठाएपछि पुन दम्पति एक्ला ‘हर्ताकर्ता’ भएको एक कार्यकर्ताले बताए । सँगैका लडाकु कमान्डर नन्दबहादुर पुन उपराष्ट्रपति भइसके । थवाङका सन्तोष बुढा नेपाल कम्युनिस्ट पार्टीमा लागेका छन् । जयपुरी घर्ती र कुलप्रसाद केसी मोहन वैद्य समूहमा गएर फर्केकाले पछि परेका छन् । केसी अहिले प्रदेशसभा सदस्यका उम्मेदवार छन् भने घर्ती समानुपातिक सूचीमा छिन् ।

प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका दीपेन्द्र, वर्षमानका निकट हुन् । (क) उम्मेदवार केसी भने रामबहादुर थापा निकट मानिन्छन् । केसीप्रति अहिले महराको बढी सहानुभूति छ । यही कारण अहिलेको चुनावमा पुनले (ख) लाई बढी महत्त्व दिएका छन् । निर्वाचन क्षेत्रभित्रका विभिन्न ठाउँमा आठ वटा सभा गर्ने योजना बनाइएकोमा (क) मा एउटा मात्रै सभा छ । बाँकी सात सभा (ख) मा छन् । केसीलाई बेवास्ता गरिएको महसुस गरी महराले सोमबार पूर्वयोजनामा नपरे पनि सुलिचौरमा आयोजित सभालाई सम्बोधन गरी भोट मागिदिए ।

सुरुमा शिक्षण पेसामा रहेका महरा रोल्पाका अगुवा नेता हुन् । उनले पढाएका धेरै विद्यार्थीहरू अहिले माओवादी नेता छन् । ‘मैले १२ वर्ष पढाएँ । धेरैलाई प्राज्ञिक र राजनीतिक शिक्षा सँगसँगै दिएँ,’ उनले भने, ‘अहिलेका प्रदेशसभा सदस्यका उम्मेदवार केसी र पुन मेरा विद्यार्थी हुनुहुन्छ । अरू यस्ता धेरै नेताहरू मेरा चेला हुनुहुन्छ ।’ रोल्पाका राजनीतिक गुरु महरालाई नै दाङतिर पठाएपछि अरू नेतासामु पुन ‘वरिष्ठ’ भएका छन् ।

महरा २०४८ को संसदीय निर्वाचनमा रोल्पा क्षेत्र २ बाट सांसद् निर्वाचित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट विजयी भएका महरा २०७० को संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र १ बाट विजयी भए । पहिलो संविधानसभा निर्वाचनमा ललितपुरबाट निर्वाचित पुन पहिलोपटक रोल्पामा चुनाव लड्दै छन् ।

स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार छनोटमा महरा र पुनबीच द्वन्द्व थियो । अन्तमा रोल्पा नगरपालिकामा महरा र पुनले भागबन्डा गरी कुरा मिलाए । नगरपालिका प्रमुखमा महराका छोरीज्वाइँ पूर्ण केसी र उपप्रमुखमा पुनकी बहिनी मन कुमारी घर्ती उम्मेदवार बनेपछि स्थिति सहज भएको थियो । अन्त्यमा दुवै जना निर्वाचित भए । दुई वर्षअघि पार्टीको जिल्ला अधिवेशनका क्रममा महरा आफ्ना तत्कालीन स्वकीय सचिव निमकान्त डाँगीलाई अध्यक्ष बनाउन चाहन्थे तर पुननिकट सुरेन्द्र थापा घर्ती अध्यक्ष भए ।

महरा र पुन भने आपसी द्वन्द्व भएको स्वीकार गर्दैनन् । ‘हामीबीच कुनै खालको द्वन्द्व छैन । राम्रो सम्बन्ध राम्रो छ,’ महराले भने, ‘राजनीतिक बहसमा समेत हामीबीच फरक मत छैन । यो त्यत्तिकै गरिएको हल्ला हो ।’ पुनले पनि महरासँग कुनै मनमुटाव नरहेको दाबी गरे । ‘यो अरूले हालिदिएको विवाद हो । हामीले कुनै विवाद गरेका छैनौं,’ उनले भने, ‘हाम्रो राम्रो सम्बन्ध छ । आपसमा केही संघर्ष छैन।’ – आजको कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);