पर्वत कांग्रेसकाे बागडाेर फेरि जोशी परिवारमा, सभापतिमा युवराज विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पर्वत कांग्रेसकाे बागडाेर फेरि जोशी परिवारमा, सभापतिमा युवराज विजयी

पोखरा । पर्वत कांग्रेसका संस्थापकमध्ये एक हुन् अमृतप्रसाद जोशी । कांग्रेसको राजनीतिमा जोशीको भूमिका महत्वपूर्ण छ । आन्दोलनको नेतृत्व मात्रै होइन, पारिवारिक सम्बन्ध पनि कांग्रेससँगै जोडिएको छ ।

स्याङ्जाका नेता गोपालमान श्रेष्ठले उनै जोशीका छोरी बिहे गरेका हुन् । श्रेष्ठ हाल कांग्रेसको केन्द्रीय सदस्य छन् । पर्वत कांग्रेसमा सभापति नभए पनि लामो समय उनै अमृतको चहलपहल रह्यो । २०३२ सालमा पहिलो पटक इन्दु शर्मा कांग्रेसको सभापति बने ।

उनी १६ वर्ष सभापति भएपछि अमृतका जेठा छोरा अर्जुन जोशीलाई पार्टी सुम्पिए । जानकारहरूका अनुसार अमृत र इन्दु निकट थिए । जसकारण लामो समय उनी सभापति हुँदा अमृतले साथ दिए । अमृत तत्कालीन जिविसको सभापति भएर काम गरेका थिए ।

त्यसपछिको १६ वर्ष अर्थात् २०६४ सम्म अर्जुन पर्वतको कांग्रेस सभापति बने । २०६४ देखि ०६७ सम्म नवराज गुरुङ, ०६७ देखि ०७१ सम्म लालकाजी गुरुङ र त्यसपछि खिमप्रसाद भुसाल नेतृत्वमा रहे । अर्जुनले सभापति छाडेको १४ वर्षपछि उनकै परिवारमा नेतृत्व पुगेको छ । अर्जुनका भाइ युवराज जोशी सभापति निर्वाचित भएका छन् । पर्वतमा जोशी परिवारको बोलवाला कायम छ ।

त्यसको प्रमाण संसदीय निर्वाचनमा दिइएको टिकटबाट थाहा लाग्छ । २०५६ देखि हालसम्मको संसदीय निर्वाचनमा सधैं अर्जुन जोशी उम्मेदवार बनेका छन् । २०४८ मा दुई क्षेत्र रहेको पर्वतको १ बाट नवराज गुरुङ र २ बाट उमा रेग्मी उम्मेदवार थिए । २०५१ मा १ बाट इन्दु शर्मा र २ बाट उमाको उम्मेदवारी दोहोरियो ।

२०५६ मा क्षेत्र नम्बर १ को उम्मेदवार बने जोशी । २ बाट डिल्लीराज शर्मा उम्मेदवार थिए । २०६४, २०७० हुँदै २०७४ मा लगातार चौंथो पटक उनी प्रतिनिधिसभा सांसदका लागि प्रतिस्पर्धी बने । वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका जोशी केन्द्रीय सदस्य बन्नकै लागि १३औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलमा छिरे । अहिले सभापति बनेका युवराज देउवा प्यानलकै हुन् ।

उनका निकटतम प्रतिस्पर्धी यामबहादुर मल्ल (रामकृष्ण) पनि देउवा समूहकै हुन् । जोशीले मल्ललाई एक सय ६० मतान्तरले पराजित गरेर सभापति बनेका हुन् । जोशीले ६ सय नाै मत पाए भने मल्लले चार सय ४९ मत प्राप्त गरे ।

सभापतिका लागि तीनजनाको उम्मेदवारी थियो । अर्का उम्मेदवार मिलन सुवेदीले ९६ मत ल्याए । सुवेदी पनि अर्जुन जोशी नजिककै थिए । यो अधिवेशनमा जोशीकै क्याम्प बाहिर गएर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । पर्वतको उपसभापतिमा डा. चूडामणि शर्मा र शिवप्रसाद सुवेदी, सचिवमा अशोक उचै ठकुरी र गुप्तनिधि शर्मा तथा सहसचिवमा अच्युत तिवारी र तिलकप्रसाद भुसाल विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा सांसदहरू पराजित

महाधिवेशन प्रतिनिधिमा सांसददेखि पूर्वसभापतिसम्म पराजित भएका छन् । संघीय सांसद लालकाजी गुरुङ र प्रदेश सांसद ललितकला गुरुङ महाधिवेशनमै पराजीत भएका हुन् । उनीहरू दुवैजना समानुपातिक सांसद हुन् । १० जना प्रतिनिधि निर्वाचित हुनुपर्नेमा लालकाजी खुलाबाट १२औं स्थानमा परे भने महिलाबाट उम्मेदवारी दिएकी ललितकला पाँचौं स्थानमा परिन् ।

महिलामा चार जना निर्वाचित हुने व्यवस्था थियो । खुलाबाट चुनाव लडेका जिल्ला सचिव विश्वप्रकाश प्रसाईं र उपसभापति दुर्गाबहादुर खत्रीसमेत पराजित भए । नेताहरू राम शर्मा पौडेल, गंगाधर पौडेललगायतले पराजय भोगे ।

महाधिवेशन प्रतिनिधिमा खुलातर्फ रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, विद्वान गुरुङ, ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, बसन्तबहादुर सिके र खिमप्रसाद भुसाल विजयी भएका छन् । खुल्ला महिलातर्फ सीताकुमारी काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ र राधाकुमारी कुँवर क्षेत्री विजयी भए ।

खस आर्य खुलामा तोरण मल्ल ठकुरी, डा. केदार सुवेदी र कुलप्रसाद उपाध्याय, खस आर्य महिलामा मुना शर्मा लामिछाने, मिनाकुमारी केसी र सिर्जना मल्ल, आदिवासी जनजातितर्फ मीना कर्माचार्य र मोहनबहादुर गुरुङ, अपांगता कोटामा लेखनाथ पौडेल र दलितमा खुलातर्फ जीवनबहादुर नेपाली र खैसरा दर्जीले जितेका छन् । मुस्िम कोटामा सनम बेगम निर्विरोध चयन भए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);