पहिराेले बगाएकाे बाटो खुलाउन गृहमन्त्री खाँणले दिएको आश्वासन पूरा भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पहिराेले बगाएकाे बाटो खुलाउन गृहमन्त्री खाँणले दिएको आश्वासन पूरा भएन

गोरखा । गत १३ असोजमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित चुम सिप्चेट मानखाङ गुम्बा उद्घाटन गर्न गृहमन्त्री बालकृष्ण खाँण हेलिकोप्टरमार्फत पुगेका थिए । हेलिकोप्टर चढेर गुम्बा उद्घाटन गर्न गएका गृहमन्त्री खाँणलाई चुम उपत्यकावासीले भव्यताका साथ स्वागत गरे । जतिबेला खाँण चुम उपत्यका पुगेका थिए त्योभन्दा महिनौं अघिदेखि (गत ३० साउन) चुमनुव्री–६ चुम्चेत र ७ को छेकम्पार प्रवेशद्वार लोक्पाखोलामा पहिरोले बाटो अवरुद्ध बनाएको थियो । पहिरोले गाउँ प्रवेश गर्ने एक मात्रै पैदलमार्ग पुरिएपछि दुई वडाका सात सय घर परिवार गाउँमै थुनिएका थिए । उनीहरूले संचित गरेर राखेको खाद्यान्न विस्तारै सकिँदै थियो । विपन्न र गरिब परिवारमा खाद्यान्नको हाहाकार हुने अवस्था हुन लागिसकेको थियो । 

प्राकृतिक विपत्ति अनि त्यसपछिका समस्यासँग पैठेजोरी खेलिरहेका चुमनुब्रीवासीलाई गृहमन्त्री खाँणले बाटो रहेको बाटो खुलाउने आश्वास दिएका थिए । साथै उनले राहत स्वरुप तत्काल खाद्यान्न पनि उपलब्ध गराउँने प्रतिबद्धता जनाएका थिए । तर उनी फर्केको डेढ महिना बितिसक्दा पनि अहिलेसम्म बाटो खुलाउने कुनै सुर सार भएको छैन । स्थानीय, प्रदेश वा संघ कुनै पनि सरकारले अहिलेसम्म स्थलगत अध्ययनका लागि समेत प्रतिनिधि तथा प्राविधिक पठाएको छैन । 

चुमनुव्री–६ का वडाध्यक्ष लोप्साङ लामाका अनुसार असोजमा वडा, पालिका र प्रशासनको लगातारको ताकेतापछि गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत छेकम्पार र चुम्चेतमा ९४ क्विटल चामल पठाएको थियो । ‘सरकारको तर्फबाट भनेर एक पटक सेनाको हेलिकोप्टरबाट चामल आइपुगेको थियो । यहाँका प्रत्येक घरलाई १५–१५ किलोका दरले पुगेको थियो । त्यो पनि ३० किलोको १५ सयका दरले रकम उठाएर खाद्यन्नका कर्मचारीलाई दिएको हो । सरकारले दिएको ढुवानी अनुदान मात्रै हो । अरु केही छैन्,’ चुमनुव्रीका सामाजिक अभियन्ता निमा लामा भन्छन् । 

पहिरो जानु भन्दाअघि यहाँ खच्चडबाट खाद्यान्न ढुवानी गरिन्थ्यो । तर, विगत तीन महिनादेखि यहाँ आवतजावत ठप्प छ । न खच्चड हिँड्न सक्छ, न मान्छे नै । गत भदौदेखि यी दुई वडामा नुन, तेल, चामल, चिनीलगायतका खाद्यान्न ढुवानी हुन सकेको छैन् । त्यसअघि ढुवानी गरेका बाँकी सामग्री पनि सकिन थालेपछि अहिले स्थानीयहरु गहुँको ढिँडो र फापरको रोटी खाएर छाक टारिरहेका छन् । 

लामा भन्छन्, ‘यहाँ खाद्य संकट सुरु भइसक्यो । तत्काल सरकारले यस बिषयमा ध्यान दिनुपर्छ ।’ समयमै सरकारले यहाँका समस्या समाधान नगरे खाद्य संकट सँगसँगै यहाँका स्थानीयमा विभिन्न खाले पोषण अभाव हुने संकेत देखिन्छ ।
 
गृहमन्त्रीलाई बचाउ गर्दै सिडियोले भने, बाटो खुलिसक्यो 
गाउँमा खाद्य संकट हुन थालेपछि केही दिनयता स्थानीय युवा ज्यान जोखिममा राखेर पहिरोलाई बेवास्ता गर्दै आउजाउ गर्न थालेको लामा बताउँछन् । 
भन्छन्, ‘खाद्य संकट लागेपछि अर्को विकल्प के हुन्छ र ? माथिबाट ढुंगा कतिबेला खस्छ भर हुुँदैन् । तर, स्थानीय केही युवा जसोतसो पहिरो छल्दै आउजाउ गर्न थालेका छन् । माथिबाट पहिरो खसिहाल्यो भने के हुने हो ?’

स्थानीयका अनुसार चुम उपत्यकाको समस्या ‘ज्यूँ का त्यूँ’ छ । तर, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भने समस्या समाधान भइसकेको दाबी गर्छन् । सिडियो आचार्य भन्छन्, ‘दुई–तीन दिन भयो त्यहाँ अहिले बाटो सन्चालनमा आइसक्यो । स्थानीयले खच्चडबाट खाद्यान्न ढुवानी गर्न थालिसके । स्थानीय आउजाउ गर्न थालिसके ।’

सिडियोले समस्या समाधान भइसकेको भनेपछि स्थानीयले भने झुठो बोलको आरोप लगाएका छन् । एक स्थानीयले भने, ‘सिडिओ हिँडेर जानु पर्यो नि । हेलिकोप्टरमा गएर समस्या थाहा हुन्छ ? त्यसै झुठो प्रतिवेदन दिएर हुन्छ ? हिँडेर गएर त्यहाँको समस्याको वास्तविकता सम्बन्धित निकायलाई पठाउनु पर्ने मान्छे समस्या समाधान भईसक्यो भनेर झुटो बोलेर हुन्छ ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);