हरिबाेधनी एकादशी : बराहपोखरीमा दर्शनार्थीको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

हरिबाेधनी एकादशी : बराहपोखरीमा दर्शनार्थीको घुइँचो

खोटाङ । हरिबाेधनी एकादशीको अवसरमा खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा ठूलो मेला लागेको छ । बराहपोखरी गाउँपालिका-१ बराहपोखरीस्थित पोखरीमा आइतबार बिहानदेखि ठूलो मेला लागेको हो ।

मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न बराहपोखरीमा जिल्लाभित्र तथा बाहिरबाट आएका हजारौँ दर्शनार्थीको बाक्लो घुइँचो लागेको छ । विशेष गरी हरिबोधनी एकादशीको अघिल्लो दिनदेखि बराहपोखरी किनारमा नुहाउने र शंखेश्वरी महादेवको मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको थेगी नसक्नु भीड लाग्ने गरेको छ ।

एकादशीको अघिल्लो दिन मेला भर्ने, पूजाआजा गर्ने र राति जाग्राम बसेर भोलिपल्ट फर्कने गरिएको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष गोमा मगरले बताइन् । बराहपोखरीमा एकादशीको अघिल्लो दिन ठूलो मेला लाग्ने गरेको छ । 

३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीको पानीले स्नान गर्दा रोगव्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यताअनुसार हरिबोधनी एकादशीमा हजारौं दर्शनार्थी तथा धामीझाँक्रीको भिड लाग्ने गर्दछ । बराहपोखरीमा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आइपुगेका छन् ।

चिताएको पुग्ने विश्वासमा बराहपोखरीमा हरिबोधनी एकादशीमा दुई हजारभन्दा बढी जोडी परेवा उडाउने गरिन्छ । खोटाङबाहेक उदयपुर र भोजपुरबाट दर्शनार्थी आउने मेला अवधिभर बालन र संगिनी नाच्ने प्रचलन छ । मेलाका लागि बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । 

पश्चिम किनारामा रहेको शंखेश्वर महादेव मन्दिरको वरिपरि आफ्नो पितृको सम्झनानामा भजन, कीर्तन र रुद्रीपाठ गर्न पैदल हिँडेरै दर्शनार्थी बराहपोखरी आउने गरेका छन् । बराहपोखरीमा रहेको मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र बराहपोखरीको दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । प्रत्येक हरिबोधनी एकादशीको दिन र अघिल्लो दिन लाग्ने मेलामा विशेष गरी बदाम, सुन्तला, कटुस र डोरोको बढी बिक्री हुने गरेको छ । सडकको पहुँच विस्तारसँगै पछिल्लो समय बराहपोखरीमा मेला भर्ने दर्शनार्थीको चाप थप बढेका छन् । 

४.४६ हेक्टरमा फैलिएको ‘अर्धचन्द्राकार’ पोखरीमा पाइने दुर्लभ रातो माछाले समेत पर्यटकको मन लोभ्याउने गरेको छ । बराहताल चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ । मुहान नदेखिने बराहपोखरीको सुरुङबाट पानी निकास हुने गरेको बताइन्छ ।

पर्यटनको प्रचुर सम्भावना भए पनि ओझेलमा रहेको बराहपोखरी दिक्तेलबाट डेढ दिनको पैदल दूरीमा छ । बराहपोखरीमा हरेक रामनवमी, शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्तिका दिन सतबीज छर्ने चलन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);