काठमाडौं । पहिलो पटक आइसिसी टी-२० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्ड आज आइतबार फाइनल भिड्दै छन् । दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा रहेका दुबै टोली एक अर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने देखिन्छ ।
फाइनल अघि टसले समेत खेलको नतिजामा ठूलो असर गर्ने देखिन्छ । जारी विश्वकपको फाइनलसम्म आइपुग्दा पहिला टस जित्ने टोलीले अधिकांश खेल जित्दै आएको छ ।
यसअघि सेमिफाइनल खेलमा न्युजिल्याण्ड इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो ।
एकदिवसीय क्रिकेटमा भने दुबै टोलीले उपाधि हात पार्दा टी–ट्वान्टीमा भने दुबै टोली उपाधिविहीन छन् । अष्ट्रेलियाविरुद्ध न्युजिल्याण्डका कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ड, मार्टिन गुप्टिल, मिचल सान्टनर, टिम साउथी जस्ता खेलाडीले प्रभाव जनाउन सक्छन् । न्युजिल्याण्डविरुद्ध अष्ट्रेलियाका कप्तान आरोन फिन्च, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, एडम जाम्पा, मार्कस स्टोइनिस जस्ता खेलाडीले महत्वपूर्ण प्रदर्शन गर्न सक्छन् ।