जंगलकाे बीचमा व्यावसायिक बाख्रापालन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जंगलकाे बीचमा व्यावसायिक बाख्रापालन

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार दाल्फुका किसान भलराज राईले जंगलबीचमा बाख्रा फार्म सञ्चालन गरेका छन् । गाउँमै स्वरोजगार बन्दै आर्थिक आयआर्जनका लागि राईले सात वर्षअघिदेखि फिर्कुखोला नजिकै पर्ने धगेर्नी पाखाको जंगलबिचमा रहेको खेतमा बाख्रा पालन सुरु गरेका हुन् ।

उनले धगेर्नी पाखामा बाँझो खेत किनेर धान खेतीसँगै बाख्रा पालन सुरु गरेका हुन् । उनको स्थायी बसोबास माथि गाउँमा छ । तर, गाउँबाटै आधा घण्टा तल पर्ने बेँसीमा पालिएको बाख्रालाई घाँसपानी र गोठालाको काम भ्याउने गरेका छन् । उनको बाख्रा पालनमा छोरा नविन, रविनलगायतको साथ छ । बाख्रा पालनबाट वार्षिक एक लाखको हाराहारीमा आम्दानी भइरहेको रविनले बताए । 

२४ वर्षीय युवा किसान दिपेश राई (बम्बू)ले पनि फिर्कुमा व्यावसायिक रूपमा बाख्रा पालन गरिरहेका छन् । दिपेशले भलराजसँगै सल्लाह गरेर २०७०/०७१ देखि व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेका हुन् । बाख्रा पालनबाटै घर खर्च चलाउन र सामान्य बचत गर्न पुगेको दिपेशले बताए । उनीहरूले गोठबाट छ/सात महिनाको बोको र पठ्याङ्ग्री बिक्री गर्ने गरेका छन् । खसी पाल्दा दानाले धान्न गार्‍हो हुने भएकाले बोको र पठेक्री विक्री गर्ने गरिएको दिपेशले बताए ।

‘गर्दा हुँदो रहेछ । बाख्रा पालनबाट खान, लाउन र दुई चार रुपैयाँ खल्तीमा राख्न समस्या छैन’, दिपेशले भने, ‘घरैमा बसीबसी वर्षमा एक लाखको हाराहारीमा आम्दानी हुन्छ । पाँच/सात महिनाको बोको १२/१५ हजारमा बिक्री हुन्छ । मेहनत गर्न सके दुई/चार पैसा कमाउन टाढा जान पर्दैन रहेछ ।’ 

गाउँका अधिकांश स्थानीय मजदुरीको काम खोज्दै दिक्तेल, ओखलढुंगा, सोलुखुम्बुलगायतका ठाउँमा पुग्छन् । आफ्नो गाउँका साथीभाई गाउँ बाहिर गएर मजदुरी काम गरिरहँदा भलराज र दिपेशका परिवार भने फिर्कु खोला आसपासका जंगलमा बाख्रा चराइरहेका हुन्छन् । रुखमा चढेर डाले घाँस झारिरहेका हुन्छन् । च्यास्मीटारको फिर्कु पाखा, धगेर्नी पाखा, पादरेपाखा, गुर्दम, रातोडाँडा, टुटुंगे लगायतका क्षेत्र बाख्रा पालनका लागि उपयुक्त स्थान मानिन्छ ।

बिराली लहरा, हाडे, धयाँरी लगायतका घाँस प्रशस्त पाईने ठाउँमा उनीहरुले बाख्रा पालन सुरु गरेका हुन् । उनीहरू बाख्रा चराउन करिब तीन/चार किलोमिटर टाढा पर्ने दुधकोसीसम्म पुग्ने गरेका छन् । बाख्रा चराएर फर्कँदा डाले घाँसको भारी लिएर फर्कने गरेका छन् । उनीहरूको आम्दानी देखेर बाख्रा पालनमा आकर्षित हुने स्थानीयको संख्या पनि बढ्दो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);