जनकपुरधाम । ‘काचही बास के दउरीया आइपर सुगा मिर्राई, मारबउ रे सुगवा धनुख सँ सुगा गिरे मुर्झाई’, यतिबेला यस्तै गीतसंगीतले तराई मधेशका छठ पर्वको रौनकतालाई अझ बढाइदिएको छ ।
यस्ता गीतसंगीत एफएम रेडियोदेखि ग्रामिण क्षेत्रका लाउडिस्पीकरहरूमा बच्ने गरेकोले तराई मधेश छठमय हुनु पुगेको छ । लोक आस्था र प्राकृतिको पूजा भनेर चिनिने छठ पर्व सोमवारदेखि विधिवत् रूपमा सुरु भएको छ ।
चार दिने छठ पर्वको पहिलो दिन सोमबार श्रद्र्धुभक्तजनहरूले नुहाई खाई गरेका छन् । दोस्रो दिन मंगलवार राति खरना, तेस्रो दिन बुधबार अस्ताउँदै गरेको र बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई यो पर्व सम्पन्न हुनेछ । जनकपुरका गंगासागर, धनुष सागर, दशरथ तलाउ, अगजासर लगायतका प्रमुख पोखरीमा घाट निर्माण गरिएको छ ।
आस्थाको पर्व
छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औँशी तिथि लागेसँगै माछामासु वा मांसाहारी भोजन त्याग गर्छन् । तिहारको चौथौ दिन नित्य कर्मपछि ब्रतमा बस्नेहरू लसुन, प्याज, उसिना चामलको भातबाहेक शुद्ध शाकाहारी खाना, खीर, दुध केरा खान्छन् । पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पूजा र फलाहारको यस दिनलाई खरना भनिन्छ । षष्ठीका दिन व्रत बसिन्छ र व्रत बस्नेहरूले अन्नजल ग्रहण गर्दैन् ।
छैठमा लागि भुस्वा, ठेकुवा, लड्डुलगायत परिकार बनाएर त्यसलाई बाँसको डालोमा राखी सूर्य अस्त हुनुभन्दा अगावै नदी वा पोखरीमा छठ पूजा गर्छन् । करिब ४० घण्टासम्म भोकै बस्ने व्रतालुले घण्टौँसम्म पानीमा उभिएर अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिन्छ ।
लोकप्रिय हुँदै छठ पर्व
केही दशकअघि नेपालको तराई र भारतको विहार, उत्तर प्रदेशलगायतका राज्यमा धुमधामका साथ मनाइने छठ पर्व यतिबेला नेपालको पहाड तथा भारतका विभिन्न राज्यहरूमा मनाइने गरिन्छ ।
छठमा प्राकृतिकका साथै एकता र अस्थााको पर्व भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको पत्रकार तथा साहित्यकार उपेन्द्रभगत नागवंशीले बताउँछन् । छठ पर्वलाई धर्मग्रन्थले हिन्दुहरूको पर्व भनेर व्यख्या गर ेपनि यो पर्व हरेक वर्गको पर्व रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘हिन्दुहरूको हरेक पर्वोत्सवहरूका ईश्वरको साक्षीको रूपमा कुनै न कुनै देवीदेवउताको प्रतिकात्मक चित्र कोरेर, प्रतिमा वा मूर्ति बनाएर पूजापाठ गर्ने चलन छ । तर, छठ पर्वमा त्यस्तो केही हुँदैन । यसमा विशुद्ध रूपमा प्रकृतिको पूजा हुन्छ ।
छठीमाता र सूर्य दुवैको पूजा एकसाथ गरिन्छ । छठपर्वको अवसरमा गरिने षष्ठी देवीको पूजाको सम्बन्धमा भागवत पुराणमा वर्णन गरिएको छ ।