शिक्षकको जागिरका लागि प्रअलाई सात लाख घुस, विद्यालयलाई चार लाख चन्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

शिक्षकको जागिरका लागि प्रअलाई सात लाख घुस, विद्यालयलाई चार लाख चन्दा

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको एक विद्यालयमा ल्याब असिस्टेन्ट (प्राथमिक तह स्तरको शिक्षक)को जागिर खान सात लाख रुपैयाँ घुस मागिएको आरोप लागेको छ ।

गाउँपालिकाको वडा नं.- ३ जगदीशपुरमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि प्रधानाध्यापक मुनिजर हसनले सात लाख रुपैयाा घुस मागेको भन्दै न्यायिक समितिमा उजुरी परेको छ ।

सोही विद्यालयका शिक्षक लडाइँप्रसाद चौधरीले छोरा विवेक चौधरीको नियुक्तिका लागि प्रधानाध्यापकलाई छ लाख रुपैयाँ बुझाएको र एक लाख रुपैयाँ नियुक्तिपछि बुझाउने मौखिक सहमति भएको लडाइँप्रसाद चौधरीले बताए ।

घुस दिएपछि हसनले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिनुपर्ने भन्दै चौधरीलाई विद्यालय व्यवस्थापन समितिसँग भेट गर्न पठाएका थिए । व्यवस्थापन समितिले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिन आग्रह गरेपछि लडाइँ छोरालाई जागिर खुवाउनबाट पछाडि हटेका थिए । घुस र चन्दा दिनुपर्ने भएपछि लडाइँले घुसबापतको छ लाख रुपैयाँ फिर्ता मागेका थिए ।

११ लाख रुपैयाँ दिन नसक्ने र यो विवादमा आफू पर्न नचाहेको भन्दै छोरालाई परीक्षाका लागि नपठाएको उनको भनाइ छ । आफू पनि त्यही विद्यालयमा पढाउने र छोरालाई पनि जागिर मिल्ने भएपछि उक्त रकम दिएको चौधरीको भनाइ छ । 

विद्यालयका प्रअ हसनले लडाइँ विद्यालयको शिक्षक नभएको बताए । ‘ममाथि लगाइएको आरोपसमेत झुटो हो । उनले छोरालाई जागिर खानका लागि नेपाली कांग्रेस विजयनगर गाउँ समिति अध्यक्ष जानकी यादवदेखि अरूबाट समेत दबाब दिएका थिए’, हसनले भने । प्रअले शिक्षक नभएको दाबी गरे पनि लडाइँलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल नेता वीरेन्द्रकुमार कनोडियाले व्यक्तिगत रूपमा तलब दिएर विद्यालयमा पढाउँदै आएका थिए ।

‘प्रअलाई घुस दिनका लागि शिवराज नगरपालिका पकडी घर भएका चिन्के प्रधानसँगै घर पुगेको थिएँ । उनलाई देखेपछि एक्लै आउन भनेका थिए । ८ कात्तिकमा माछापुच्छ्रे बैंक चन्द्रौटा शाखाबाट चेकमार्फत निकालिएको छ लाख ३० हजारमध्ये ३० हजार घर खर्च राखी बाँकी प्रअ हसनलाई बुझाएको थिएँ’, शिक्षक लडाइँले बताए ।

घटना सार्वजनिक भएपछि प्रअ हसनसँग स्पष्टीकरण माग्दै अनुसन्धान सुरु गरेको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । घटनाको विषयमा आज (बिहीबार) गाउँपालिका न्यायिक समितिमा उजुरीसमेत परेको छ । रकम लिएको पुष्टि भएमा प्रअलाई कानुनअनुसार कारबाही गरिने गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);