मानव वन्यजन्तु द्वन्द्व पीडितलाई क्षतिपूर्ति पाउनै सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मानव वन्यजन्तु द्वन्द्व पीडितलाई क्षतिपूर्ति पाउनै सास्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिक मानव वन्यजन्तु द्वन्द्वको पीडा सहेर बस्नुपरेको छ । मध्यवर्ती सामुदायिक वनबाट निस्कने जनावरको आक्रमणबाट वर्षेनि ठूलो धनजनको क्षति हुने गरेको छ । घाँस दाउरा गर्न जंगल गएका उपभोक्तालाई पनि जंगली जनावरले आक्रमण गर्ने गर्छन् ।

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जंगलको सीमा क्षेत्रमा कंक्रिट वाल र मेसजाली लगाउने काम भइरहे पनि स्थानीयका गुनासा ज्यूँकात्यूँ छन् । जंगली जनावरले धनजनमा पु¥याएको क्षतिको क्षतिपूर्ति लिन पनि पीडितले वर्षाैँसम्म सास्ती खेप्नु परेको छ । 

पछिल्लो समय खैरहनी नगरपालिका–१३ कुमरोजमा बाघको आतंक बढेको छ । बाघको आक्रमणबाट चालू आर्थिक वर्ष २०७८/७९ को २५ साउन र १९ असोजमा गरी वनमा घाँसदाउरा गर्न गएका दुई जनाको मृत्यु भइसकेको छ । गत आव २०७७/७८ को १५ असोजमा पनि वनमा घाँस काट्न गएका हात्तीसारेलाई बाघले मारेको थियो ।

गत आवको असोजमा बाघको आक्रमणमा परी मृत्यु भएका मृतकको परिवारले अझै पनि राहत पाउन नसकेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार चालु आवका पीडितले पनि राहत पाएका छैनन् । 

‘राहत पाउने व्यवस्था एकदमै झन्झटिलो छ । मृतकका परिवारले बढीमा ४० दिनभित्रमा क्षतिपूर्तिबापतको राहत पाउनुपर्छ । यसलाई सहज बनाइदिनुपर्छ भनेर अनुरोध गरिरहेका छौँ, तर भएको छैन’, उनले भने ।

पीडितलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ती दिने व्यवस्था भए पनि त्यो लिन सहज छैन । मृतकका परिवारलाई उपभोक्ता समितिका तर्फबाट किरिया खर्चबापत प्रतिपरिवार २५ हजार रुपैयाँ दिइएको उनले बताए । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि साढे आठ किलोमिटर जंगल सीमा क्षेत्रमध्ये करिब तीन किमीमा कंक्रिटवाल निर्माण भइसकेको उनले बताए । 

साढे तीन किलोमिटरमा प्रदेश सरकारको बजेटबाट कंक्रिटवाल निर्माण हुन लागेको उनको भनाइ छ । बाँकी करिब डेढ किमीमा समितिले नै निर्माण गर्नेछ । ‘जंगल सीमामा कंक्रिटवाल निर्माण सम्पन्न भइसकेपछि यहाँ जुन बाघ, हात्ती र गैंडाले क्षति पुर्‍याउने समस्या छ । त्यो ८० देखि ९० प्रतिशत कम हुने हाम्रो अनुमान छ’, उनले भने ।

घाँस दाउरा काट्नका लागि उपभोक्ताहरूलाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्याइएको छ । पर्यटकहरूलाई जंगल सफारीका लागि बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो १ बजेदेखि सूर्यास्तसम्मको समय तोकिएको छ । जंगली जनावरको आक्रमणमा परेका उपभोक्ताको उद्धारका लागि भने निकुञ्ज प्रशासनबाट प्राविधिकको टोली खबर गरेको बढीमा डेढ घण्टाभित्रमा आइपुग्ने गरेको उनी बताउँछन् । 

‘अहिले हाम्रो जंगलमा व्यापक रूपमा बाघहरू देखिएका छन् । हामीले उपभोक्ताहरूलाई निश्चित समयभित्र जंगल जाने आउने गर्न भनेर सूचना जारी गरेका छौँ । एक्लै नजान, कम्तिमा चार÷पाँच जनाको समूह बनाएर जान भनेका छौँ’, उनले भने ।

भरतपुर महानगरपालिका–२७ धर्मपुरकी विष्णु खत्री क्षेत्रीले पालेको भैंसीको पाडो एक महिना अघि बाघको आक्रमणबाट मर्‍यो । गोठमा बाँधिरहेको डेढ वर्षको पाडोलाई बाघले राति आएर मारेको हो । त्यसको क्षतिपूर्ति भने अझै नपाइएको क्षेत्रीले गुनासो गर्छिन् । निकुञ्जले पाडो मार्ने बाघलाई भने भोलिपल्टै नियन्त्रणमा लिएको थियो ।

‘बल्लतल्ल गरेर आवश्यक कागजपत्र पेस गर्‍यौँ । क्षतिपूर्ति कहिलेसम्म पाइन्छ, थाहा छैन । निकुञ्जका कर्मचारीले पनि केही भनेका छैनन्’, उनी भन्छिन् । क्षतिपूर्ति लिन पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया पूरा गर्दा आफुले पाउने राहत रकमभन्दा धेरै खर्च हुने उनी बताउँछिन् । जंगली जनावर गाउँमा आएर मानवीय र भौतिक क्षति पुर्‍याउने समस्यालाई अन्त्य गर्न प्रभावकारी काम हुन नसकेको उनले बताइन् ।

मेघौली धर्मपुर क्षेत्रमा जंगली बँदेल, मृग, मयुरलगायतका जनावरले बालीनाली खाइदिने समस्या छन् । निकुञ्जका कर्मचारी कहिलेकाँही आएर जनावरले गरेको क्षतिको विवरण लिएर गए पनि राहत भने समयमा नपाइएको भरतपुर–२७ मेघौलीका रामपतिया महतो बताउँछन् । ‘बाँदर र बँदेलले खेतमा लगाएको बाली सखाप पार्छन् । निकुञ्जबाट आएर यसो फोटो खिचेर त जानुहुन्छ । तर, राहत पाउन भने धेरै धाउनुपर्छ । राहत रकम पनि एकदमै थोरै छ’, उनले भने ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने आवश्यक कागजपत्र सबै पेस हुन नसक्दा पीडितले क्षतिपूर्ति पाउन ढिलाई भएको हुनसक्ने बताउँछन् । ‘डकुमेन्ट पूरा हुनुपर्छ । राहत त जतिसक्दो छिटो उपलब्ध गराउने गरी विभागले पनि पहल गरेको छ । छिटो होस् भनेरै राहत रकम निकुञ्जमा नै पठाइदिएको छ’, उनले भने । 

दुई हप्ताअघि मात्र सरुवा भएर आएका आचार्यले ८० लाख रुपैयाँ क्षतिपूर्ति रकम निकासा दिइसकेको बताए । क्षतिपूर्ति रकम पीडितको बैंक खातामा मात्र जाने भएकाले कतिपयको बैंक खाता नहुँदा पनि समस्या हुने गरेको उनी बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);