काठमाडौं, १८ कात्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रमा खटिने मतदान अधिकृतहरुको लागि प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ ।
विशेष गरेर मतदाता शिक्षाको साथै वदर मतको संख्यामा कमि ल्याउनका लागि आयोगले मतदान अधिकृतहरुलाई प्रशिक्षण गरेको हो ।
स्थानीय तहको निर्वाचनमा एउटै मतपत्र भएपनि यसपटक मतदाताले प्रदेशसभा प्रतिनिधि र प्रतिनिधिसभा प्रतिनिधी चयन गर्नका लागि तीन वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले त्यस क्रममा पुर्याउनुपर्ने सावधानीका बारेमा आयोगले अधिकृतहरुका लागि तालिम संचालन गरेको हो ।
आयोगमा शनिबार आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा विशेष गरेर मत कसरी खसाल्ने भन्ने सन्र्दभमा नै आयोगले मतदान अधिकृतहरुलाई सूचित गरायो ।
निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै निर्वाचन आयुक्त नरेन्द्र दाहाले तीन मतपत्रमा चार वटा छाप लगाउनुपर्ने भएकाले मतदाता अल्मलिन सक्ने तर्फ मतदान अधिकृत विशेष सचेत हुनुपर्ने उल्लेख गरे ।
हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लाहरूमा मंसिर १० गते पहिलो चरणमा र बाँकी ४५ जिल्लाहरूमा दोस्रो चरणमा मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदैछ ।