हुम्ला । आइतबार रातिदेखिको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् । एक सय घर उच्च जोखिममा परेका छन् । सर्केगाड गाउँपालिका-१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएकाे र १० घरमा आंशिक क्षति पुगेकाे वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए । ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिकाे अनुमान गरिएकाे उनले बताए ।
सर्केगाड-२ रिप गाउँमा एक घर भत्किएको छ ।सर्केगाड-४ को साँयामा ११ घरमा क्षति पुगेकाे छ । अदानचुली गाउँपालिका-१ को कल्खेमा पहिराेले तीन घरमा क्षति गरेको छ ।दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेकाे प्रहरीले जानकारी दिएकाे छ ।
अदानचुली गाउँपालिका-४ मा लौठीका ३० घर पहिरोको उच्च जाेखिममा छन् । लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेकाे वडाध्यक्ष दत विष्टले जानकारी दिए ।