काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान यसपटक नगर्ने भएको छ । कोभिड महामारीको त्रास अझै कायम रहेको भन्दै कांग्रेसले यसपटक चियापान समारोह स्थगित गरेको हो । अघिल्लो वर्ष पनि कोभिडकै कारण चियापान भएको थिएन ।
कांग्रेसले पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि सबैलाई अपील गरेको छ । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन ।
खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।कांग्रेसले कोभिड महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास राखेको छ ।