छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान

काभ्रे । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप नमोबुद्ध नगरपालिका वडा नं. ९ को सहयोगमा दाप्चा स्वास्थ्य चौकीले नगदसहित सम्मान गरेको हो । नगरपालिकाको विभिन्न वडाका आमाहरुलाई बुधबार आयोजित एक कार्यक्रमकाबीच प्रोत्साहन रकम प्रदान गरिएको थियो ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले यही साउन १ गतेदेखि असोज १४ गतेसम्मको अवधीमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ जना आमालाई नगद प्रदान गरे । नमोबुद्ध नगरपालिका वडा नं. ९ ले विगतका बर्षदेखि नै दाप्चा स्वास्थ्य चौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सुत्केरी आमालाई छोरी जन्माएवापत वडाबाट प्रदान गरिने ५ हजार रुपैयाँ, स्वास्थ्य संस्थामा सुत्केरी भएवापतको दुई हजार रुपैयाँ, एम्बुलेन्स खर्चवापत १८ सय रुपैयाँ, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप २ हजार रुपैयाँ र चारपटक गर्भ जाँच गराएवापतको ८ सय रुपैयाँ एकमुष्ट रुपमा प्रदान गरिएको थियो ।

नगर प्रमुख तिमल्सिनाले नमोबुद्ध नगरपालिकाले सडक, पूर्वाधारमात्रै नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गर्दै छोरी प्रोत्साहन, बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यस बर्ष महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थालाई मजवुत बनाउनका लागि थप नीति तथा कार्यक्रम तय गरेको बताए । नगरको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको, दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको तथा नगरमा थप एम्बुलेन्सको व्यवस्था गरिएको उनले जानकारी दिए ।

उपप्रमुख रामदेवी तामाङले हाम्रो समाजमा छोरीलाई गर्भदेखि नै विभेद हुँदै आएको बताउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको बताइन् । छोरीको आशमा दुई भन्दा बढी सन्तान नजन्माउन महिलाहरुलाई आग्रह गर्दै उनले पहिले भन्दा अहिले धेरै हदसम्म विभेद कम भएको र यसलाई पूर्णरुपमा अन्त्य गरेपछि मात्रै समुन्नत समाजको कल्पना गर्नसक्ने बताइन् ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले छोरी जन्माउँदा हतोत्साही नभई गौरव गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको बताए । उनले महिलालाई छोरी जन्माएवावत गौरवबोध होस् भन्ने उद्देश्यले थोरै भए पनि प्रोत्साहन रकम उपलव्ध गराउन थालिएको जानकारी दिए । आफ्ना बालबालिकाको पोषणका साथै शिक्षादीक्षामा पनि विशेष ध्यान दिन उनले आग्रह गरे ।

वडा नं. ९ का वडा अध्यक्ष मेलवहादुर लामाले सामाजमा रहेका विकृतिको अन्त्यका लागि सन्देशमुलकरुपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । समाजमा अझै पनि बच्चा जन्मनुअघि भ्रुण जाँच गर्ने प्रचलन कायमै रहेको भन्दै उनले त्यसको अन्त्य गर्नु जरुरी रहेको बताए । आमा र बच्चाको स्वास्थ्यका लागि पोषणयुक्त खानेकुरा खानका लागि वडाबाट थोरै भए पनि आर्थिक सहयोग गर्ने क्रम आफूले सुरु गरेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);