काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएको हो ।
समितिकी सभापति कल्याणीकुमारी खड्काले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेका संरचनाहरुको दिगो संरक्षण, उपयोग र त्यसको समुचित व्यवस्थापन सम्बन्धी स्पष्ट कार्ययोजना बनाउन शहरी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका सम्बद्ध जिम्मेवार निकायहरुलाई निर्देशन दिइएको बताए ।
साथै भूकम्प प्रभावित जिल्लाहरुमा पुनर्निर्माणको कार्यमा प्रयोग भइरहेका भूकम्प प्रतिरोधी प्रविधि नेपालको सबै जिल्लामा प्रयोग गरी निजी आवासलगायत पूर्वाधार निर्माणको कार्यमा दिगो र सुरक्षित बनाउने वातावरण सुरक्षित गर्न समितिले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।




