साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-२ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-२ ले पराजित

एजेन्सी । युवा खेलाडीको गोल प्रेरित नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा साेमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेका हो । जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट ६ अंक जोडेको हो । 

नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले १/१ गोल गरे । श्रीलंकाका लागि मार्बिन हामीटन र डिलोन डी सिल्भाले १/१ गोल गरे । यसअघि नेपालका मिडफिल्डर सुमनले खेलमा अग्रता दिलाएका थिए । श्रीलंकाविरुद्ध नेपालको अट्याक लाइन सम्हालेका सुमनले खेलको ३१ मिनेटमा गोल गरेका हुन् । सुमनले नवयुग श्रेष्ठको पास सदूपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए । 

नेपालको लागि दोस्रो गोल अन्जनले गरे । अन्जनले खेलको ५१ मिनेटमा रिबाउण्ड बललाई जाली चुमाए । तेज तामाङले राईट विंगर आयुष घलानलाई बल उपलब्ध गराएका थिए । आयुषले सिक्स र्‍याड बक्सबाट नवयुगलाई उत्कृष्ट पास उपलब्ध गराए । नवयुगको प्रहार श्रीलंकाका गोलरक्षक सुजन परेराले पन्च गरेको बललाई रिबाउण्डमा अन्जनले खाली पोष्टमा गोल गरेका हुन् । 

नेपालका लागि तेस्रो अग्रता आयुषले गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुषले खेलको ८६ मिनेटमा ३-० को अग्रता दिलाएका थिए । राष्ट्रिय टोलीका लागि आयुषको यो पहिलो आधिकारीक गोल हो । यसअघि उनले ओमानविरुद्ध गोल गरेपनि सो खेल आधिकारिक थिएन । 

श्रीलंकाका लागि मार्बिन हामीटनले ५७ मिनेटमा सान्त्वना गोल गरे । डिबक्स बाहिरबाट मार्बिनले गरेको लामो प्रहार क्रसबारमा लाग्दै जाली चुमेको थियो । दोस्रो गोल श्रीलंकाले पेनाल्टीमा गर्‍याे । ९० मिनेटपछि थपिएको पाँच मिनेटमा श्रीलंकाका डिलोन डी सिल्भाले पाएको पेनाल्टीलाई सदूपयोग गर्दै दोस्रो गोल गरेका थिए । यद्यपि टोलीको हारलाई भने टार्न सकेनन् । 

यसअघि खेलको ५६ मिनेटमा नेपालले गोलको संकट टारेको थियो । श्रीलंकन खेलाडीले प्रहार गरेको बल लेफ्ट ब्याक सुमन अर्यालले गोल लाइनबाट बचाएका थिए ।नेपालले खेलको ६७ मिनेटमा सुन्दर मौका चुकायो । यस पटक वैकल्पिक खेलाडीद्वय सन्तोष तामाङ र आयुष घलान लगातार गोल गर्नबाट चुके । मनिष डांगीले काउण्टरमा मिलाएको पासलाई सन्तोषले डिबक्सबाहिरबाट पोष्टको दिशा दिन सकेनन् ।

सन्तोषको वान भर्षेष वानलाई श्रीलंकन गोलरक्षक सुजन परेराले बचाएका थिए । लगत्तै आयुषको प्रहार समेत गोलरक्षक परेराले बचाएका थिए । खेलको ७४ मिनेटमा मनिष पुनः वान भर्षेष वानमा चुके । मनिषको प्रहार सिक्स यार्ड बक्सबाट गोलरक्षक परेराले बचाएका थिए । 

श्रीलंकाविरुद्ध सुरुवातमै नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पँहेलो कार्ड पाएका थिए । फोर्थ अफिसियललाई अभद्र व्यवहार गरेपछि अब्दुल्लाहलाई पँहेलो कार्ड देखाइएको थियो ।  यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । जुन खेलमा मनिष डांगीले निर्णायक गोल गरेका थिए । 

खेलको प्लेयर अफ दि म्याच नेपालका अन्जन घोषित भए । अर्काे खेलमा पहिलो खेलमा बंगलादेश र भारतले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

जितसँगै नेपाल २ खेलबाट ६ अंक सहित शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंक बनाएको बंगलादेश दोस्रो स्थानमा छ । १ खेलबाट १ अंक जोडेको भारत तेस्रो स्थानमा छ । बिना कुनै अंक आयोजक माल्दिभ्स चौथो स्थानमा रहँदा २ खेलबाट बिना अंक श्रीलंका पुछारमा छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);