काठमाण्डौँ, १६ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।
अध्यक्ष थापाले नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । विहिबार हेटौडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफनो उम्मेदवारी दिएपछि उहाँले संचारकर्मीमाझ उम्मेदवार बन्न साथ दिएको भन्दै नेपाली काँग्रेसप्रति आभार व्यक्त गरे । अध्यक्ष थापाले बाम गठबन्धन भईसकेपछि नेपाली काँग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जानु परिस्थितिजन्य आवश्यकता भएको र यसलाई आफूले स्वभाविकै रुपमा लिएको प्रतिक्रिया पनि दिए ।
अध्यक्ष थापाले झापा क्षेत्र नम्बर ३ मा काँग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जाने परिस्थिति नरहेपनि मैत्रीपूर्ण प्रतिष्पर्धा हुने स्पष्ट पारे । काँग्रेससँग सहमति नभएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्री राजेन्द्र लिङदेनलाई उम्मेदवारी बनाएको छ । यो क्षेत्रमा काँग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ ।