लमजुङ । चुलोचौकोमा मात्र सीमित हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै पछिल्लो समयमा महिलाहरू उद्यमी बन्ने क्रम बढ्दो छ । केही महिलाहरू उद्यम गरेर आत्मनिर्रभर भई अहिले सम्मानपूर्वक जीवन व्यतित गरिरहेका छन् । उदाहरण बनेकी छिन्– लमजुङको क्होलासोंथर गाउँपालिका–३ कि पार्वती गुरुङ । विशाल अल्लो तथा ढाका उद्योग दर्ता गरेर व्यवसाय सञ्चालन गरेकी पार्वती विगत नौ वर्षदेखि अल्लो तथा ढाका उद्योग सञ्चालन गर्दै आएकी छन् । पार्वती हाल सफल उद्यमी मात्र बनेकी छैनन्, थप ६ जनालाई रोजगारसमेत दिएकी छन् ।
लमजुङको सदरमुकामस्थित अल्लो तथा ढाका उद्यमोग व्यवसाय सञ्चालन गदै आएकी पार्वती मासिक ६०÷७० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछिन् । घरेलु तथा साना उद्योगमार्फत तीन महिना अल्लोको कपडा र ढाकाको कपडा बुन्ने तालिम सिकेकी पार्वती यसै व्यवसायमार्फत सफल उद्यमी बनेको बताउँछिन ।
‘घरव्यवहार चलाउन श्रीमानकै भर पर्नुपर्दैन,’ उनले भनिन्, ‘सीप सिक्दा आत्मनिर्भर बन्ने बाटो खुलेको हो ।’ वनमा खेर गइरहेको अल्लोलाई सदुपयोग गरेको उनले बताइन् ।
कक्षा ५ सम्म अध्ययन गरेकी पार्वतीले आफू आत्मनिर्भर भएपछि अरुको भर पर्नुनपर्ने र सम्मानपूर्वक जीवन व्यतित गर्ने सकिने बताइन् । पर्वती जस्तै बेसीशहर नगरपालिका ८ कि पुन्यकुमारी सिलवाल पनि सफल उद्यमी बनेकी छिन् ।
सिलवाल हस्तकला तथा झिलिङ्गा उद्योग दर्ता गरी व्यवसाय सञ्चालन गरेकी छन् । उनी सिलाइकटाइ व्यवसायमार्फत आत्मनिर्रभर र सफल उद्यमी बनेको बताउँछिन् ।
सानैबाट सिलाइकटाइ व्यवसायी बन्ने सोच बनाएकी सिलवाल अहिले सफल उद्यमी बनेकोमा गर्व महसुस हुने बताउँछिन । ‘अहिले मासिक २५ हजार रुपैयाँसम्म कमाउँछु, सजिलै घर व्यवहार चलाएकी छु’, उनले भनिन् । उनले घर व्यवहारमात्र चलाएकी छैनन्, एकल महिला, असहाय र गरिब १३ जनालाई रोजगारीसमेत दिएको बताउँछन् । उनी पनि घरेलु तथा साना उद्योग विकास समितिले दिएको तालिमबाट आफू उद्यमी बनेको बताउँछिन् ।
यी प्रतिनिधी पात्रहरू हुन् । पछिल्लो समयममा थुप्रै महिलाहरू सफल उद्यमी बनिरहेका छन् । जागिरभन्दा उद्योग सञ्चालन गर्न कम शिक्षाले पनि सजिलै गर्न सकिने भएका कारण पनि उद्यम प्रति महिलाहरूको आर्कषण बढ्दो छ ।
उनीहरूमात्र होइन सुन्दरबजार नगरपालिका ६ मा कालिका आमा समूह ढाका उद्योग दर्ता गरी पाँचजना महिलाको समूहले एक वर्षदेखि व्यावसायिक रूपमा ढाका उद्योग सञ्चालन गरेका छन् ।
उनीहरूले सञ्चालन गरेको उद्योगबाट हाल १० जना महिलाले रोजगार पाएका छन् । ‘मासिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुन्छ’, समूहकी धनकुमारी गुरुङले भनिन् । उनले घरेलुले ढाका बुन्ने तालिमसँगैै सात थान तान प्राप्त गरेको बताइन् ।