कर्णालीमा चल्दै छ पाँच दशकदेखि ‘चामल राजनीति’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कर्णालीमा चल्दै छ पाँच दशकदेखि ‘चामल राजनीति’

rahat-ko-chamal

सुर्खेत । कर्णालीमा पाँच दशकदेखि चामलको राजनीतिक चलिरहेको छ । ०३०–०३५ साल (पञ्चायतकाल) देखि नै कर्णालीमा चामलको राजनीति जारी छ । पञ्चहरूले कर्णालीमा भोकमरी हुने भन्दै त्यसबेला हेलिकोप्टरमार्फत चामल ओर्सान थालेका हुन् । तर, उनीहरूले कर्णालीमा भोकमरीभन्दा भोट जोगाउने चिन्ताले यस्तो गरेका हुन् । पछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो र शाखा कार्यालय नै स्थापना गरेर चामलको व्यापार गर्न थाले ।

कर्णालीमा चामल लैजाने नाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारी, ठेकेदार र बिचौलियाले चामलमा झेल गर्दै आएका छन् । यहाँ आउने अनुदानको चामल (राम्रो चामल) अयन्त्र पठाएर कुहिएको चामल बिक्री गर्ने गरेका छन् । कार्यालयले बिषेशगरी दशैँ तिहारका बेला कर्णालीमा चामलको अभाव रहेको ‘प्रचार’ गर्दै कुहिएको चामल बिक्री वितरणका लागि पठाउने गरेको छ । 

आर्थिक वर्ष ०७७/०७८ को दशैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट मुगु जिल्लाका लागि चामल ढुवानीको जिम्मा पाएको दुर्गा भगवती इन्टरप्राइजेज र शर्मा निर्माण सेवाले कम्पनीबाट उठाएको चामल भक्तपुर लैजान लागेका बेला प्रहरीले सुर्खेतको सुब्बाकुनाबाट ना६ख ५७२१ नम्बरको ट्रकसहित दुई सय ५० क्वीन्टल चामल जफत गरेको थियो ।  

कम्पनीले दुर्गा भगवती इन्टरप्राइजेज र शर्मा ढुवानी सेवाका सञ्चालक वासुदेव शर्मासँग मुगुको कालैमा तीन हजार क्वीन्टल, सोरुकोट, पुलु र कालिकोटको थिर्पुमा एक–एक हजार क्वीन्टल तथा दैलेखको चामुण्डा र ठाँटीकाँधमा पाँच–पाँच सय क्वीन्टल चामल ढुवानी गर्ने सम्झौता गरेको थियो । कम्पनीसँग १६ असोज ०७७ मा भएको सम्झौताअनुसार शर्माले कालैका लागि जापानी चामल एक हजार क्वीन्टल र अरुवा मोटा चामल एक सय क्वीन्टल उठाएका थिए । तर, उनीहरूले मुगु पठाउनु पर्ने चामल भक्तपुर पठाएका थिए । यो प्रकरणमा ठेकेदार कम्पनीका प्रतिनिधि त समातिए । उनी पछि धरौटीमा छुटेँ । त्यो पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको मिलेमतोमा नै । 

पहिलो पटक बास्मती चामल
कम्पनीले यसअघि कर्णालीका नौ जिल्लामा धनगढी, लहानलगायत स्थानबाट मोटा, अरुवा चामल पठाउँदै आएको थियो । तर, यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंबाट सुर्खेतमा १५ साउनदेखि १५ भदौको बीचमा २ हजार २ सय क्विन्टल बास्मती चामल पठायो । काठमाडौंबाट पहिलोपटक बास्मती चामल कर्णाली पठाएको हो । तर यो चामल खान योग्य नभएको पुष्टि भइसकेको छ ।

खाद्य कम्पनी प्रादेशिक कार्यालय सुर्खेतका लेखा शाखा प्रमुख विनोद पौडेलले भने, ‘पहिलोपटक कर्णालीमा बास्मती चामल आए पनि विवादमुक्त भएन । यो चामल २० किलोको बोरामा छ ।’ उनका अनुसार सुर्खेत कार्यालयबाट हालसम्म एक सय १० रुपैयाँ प्रतिकिलोका दरले १५ क्विन्टल जति चामल बिक्री पनि भइसकेको छ । 

कर्मचारीकै मिलेमतोमा कर्णालीका कुहिएको चामल पठाएर सरकारले नागरिकको जीवनमाथि खेलबाड गरेको उपभोक्ता हित संरक्षण समितिका प्रदेश कोषाध्यक्ष विन्दुलाल रेग्मीले आरोप लगाए । ‘यो नागरिकको जनस्वास्थ्यमाथि गम्भीर खेलबाड हो,’ उनले भने, ‘राज्यको जिम्मेवार निकायबाट नागरिकमाथि यस्तो खेलबाड गर्नु अपराध हो ।’

चामल गोदाममा सिल
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले किरा परेको र कुहिएको चामल रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको गोदाम सिल गरेको छ ।

डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले गोदाम अनुगमन गर्दा काठमाडौंबाट आएको १९ सय ९० क्वीन्टल बास्मती चामलमध्ये १५ क्वीन्टल बिक्री गरिसकेको पाएको बताए । बाँकी १९ सय ७५ क्वीन्टल चामल खाद्य कम्पनीको गोदाममा रहेको उनको भनाइ छ । उनले हाल गोदाममा रहेको सो बास्मती चामल बिक्री वितरण नगर्न सिल गरेको जानकारी दिए । 

ढुवानीसमेत झेल
खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट ढुवानीको जिम्मा पाएका ठेकेदारहरूले डिपो तथा खाद्य कम्पनीको कार्यालयमा नपु¥याएर बाटोबाटै बिक्री गर्ने समेत गरेका छन् । कार्यालयका कर्मचारीसँगको मिलेमतो उनीहरूले बाटोमा चामल बिक्री गर्ने गरेका छन् । 

कर्णालीका सडक नपुगेका जिल्ला हुम्ला र डोल्पामा नेपालगन्ज र सुर्खेतबाट चामल ढुवानी गर्ने जिम्मेवारी वायुसेवा कम्पनीहरूलाई दिने गरेको छ । तर, चालु आर्थिक वर्ष ०७८/७९ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वायु सेवा कम्पनीलाई ढुवानीको जिम्मा नदिएर बिचौलिया प्रयोग गरेको छ । 

हुम्ला र डोल्पामा मात्रै हवाई मार्गमार्फत वार्षिक १५ करोड रुपैयाँको चामल ढुवानी हुने गर्छ । चालु आर्थिक वर्षमा चामल ढुवानीमा बिचौलिया ल्याएको वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीको आरोप छ । ‘विगतमा यो काम खाद्य कम्पनीले सिधै एयरलाइन्सलाई दिने गरेको थियो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा विमान नै नभएको कम्पनीलाई चामल ढुवानीको जिम्मा दिइयो । यो जिम्मा बिचौलियाले लिए पनि बोक्न भने एयरलाइन्स नै प्रयोग गर्नुपर्छ ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);