काठमाडाैं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ-नगर वडा अधिवेशन सुरु हुँदैछ ।
हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्ला मध्ये ४० वडामा आजेदेखि वडा अधिवेशन हुन लागेको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको जनाएको छ ।
साथै उक्त जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको बताइएको छ । करिब ९ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ ।
वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
मुलुकभरका सबै ६ हजार ७ सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने कांग्रेसले जनाएको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।