काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुनै लाग्दा उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको छ । अहिलेसम्म दुईजनाले सभापति र एकजनाले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
पार्टीका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेर सभापतिमा लड्ने भन्दै उम्मेद्वारी घोषणा गरिसकेका छन्। केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले बुधवार पत्रकार सम्मेलन गरी सभापतिमा लड्ने घोषणा गरे। उनी आजदेखि जिल्ला दौडाहामा हिँडेका छन् । नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्न दबाव दिनकै लागि आफूले सभापतिमा उम्मेद्वारी घोषणा गरेको गुरुङ बताउँछन् ।
कांग्रेस युवा नेता गगन थापाले फेरि एकपटक महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेद्वार बनेका थिए ।
सभापति शेरबहादुर देउवा पुनः दोहोरिने चर्चा चलेको छ । तर, उनले कतै पनि सभापतिमा उठ्ने औपचारिक घोषणा गरेका छैनन् । देउवा खेमाबाटै निधिले उम्मेद्वारी घोषणा गरिसकेका छन् । नेता गोपालमान श्रेष्ठले पनि उम्मेद्वारी दिने बताउँदै आएका छन् ।
यही क्रममा संस्थापनइतर समूहले आज सभापतिको उम्मेद्वार घोषणा गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सभापतिको उम्मेद्वार घोषणा गर्ने तयारी गरेको छ ।
संस्थापनइतर समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी सभापतिका आकांक्षी छन् । तर, धेरै नेता सभापतिका आकांक्षी भएकाले आजै सहमति नजुट्ने पौडेल पक्षका एक केन्द्रीय सदस्यले बताए ।
‘फेरि पनि वर्तमान सभापति देउवा दोहोरिन चाहेकाले इतर पक्ष एकढिक्का हुनुपर्ने देखिएको छ र एकता कायमै छ भन्ने सन्देश दिनुपर्ने भएकाले सकेसम्म विवादरहित ढंगले सभापति उम्मेद्वार घोषणा गर्न लागिएको छ,’ ती नेताले भने ।