यी हुन् गठबन्धनलाई सकस पार्ने क्षेत्र, कसलाई कहाँ सकस ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि सिफारिसमा पहिलो नम्बरमा रहेका सुरेन्द्र मानन्धर अचानक आइतबार राति नागरिकता बोकेर निर्वाचन आयोग पुगे । प्रत्यक्षतर्फ निर्वाचन लड्ने भन्दै तयारीमा लागेका मानन्धर अचानक समानुपातिकतर्फको सूचीमा परे।

‘काठमाडौं–१० बाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने भनेर ठीक परेको थिएँ, पार्टी (एमाले) र माओवादीबीच चुनावी गठबन्धन भएपछि मेरो क्षेत्र माओवादीको भागमा पर्‍यो, म समानुपातिकतर्फ आउनुप-यो,’ मानन्धरले भने । अाजको नागरिकमा खबर छ-काठमाडौं-१० माओवादीलाई छाड्नुपर्ने भएपछि उनी प्रदेशतर्फको समानुपातिक सूचीमा परेका हुन्।

साँझ एमाले नेत्री अष्ठलक्ष्मी शाक्यले टेलिफोन गरेपछि मानन्धर नागरिकतासहित निर्वाचन आयोग पुगे र आफ्नो नाम समानुपातिकतर्फ हालेर मध्यरातमा आयोगबाट निस्किए। ‘मन त प्रत्यक्षतर्फ लडेर संसद्मा जाने थियो तर गठबन्धन बनेपछि सम्भव भएन,’ उनको दुखेसो थियो । २०७० सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गरेका मानन्धर दोस्रो भएका थिए । उनीहरुलाई दुवैलाई हराएर नेपाली कांग्रेसका राजन केसीले चुनाव जितेका थिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चाहिं तेस्रो नम्बरमा सीमित भएका थिए।

यो एउटा उदाहरण मात्रै हो । झापा–३ का कारण नेपाली कांग्रेस र राप्रपाबीचको गठबन्धन निकै सकसमा परिरहेको छ । यो क्षेत्रवाट कांग्रेसका कृष्ण सिटौला र राप्रपाका राजेन्द्र लिङदेन दाबेदार छन् । दुवै जना उक्त क्षेत्र छाड्ने मनस्थितिमा छैनन् । कांग्रेस सभापति उम्मेदवारसमेत रहिसकेका सिटौलाले उक्त क्षेत्र नछाडेपछि राप्रपाका महामन्त्री लिङदेनले पनि गठबन्धन टुट्ने चुनौती दिइसकेका छन् । ‘भ्रममा नपरौं, झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी कायम रहन्छ, कुरा यत्ति हो।

एउटै गठबन्धनका २ उम्मेदवार भएपछि कांग्रेससँगको गठबन्धन टुट्यो,’ महामन्त्री लिङदेनले सार्वजनिक रुपमा भनिसकेका छन् । सोमबार नै बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले लिङदेनलाई झापा–३ मा उम्मेदवार खडा गर्ने निर्णय लिएको छ । कांग्रेसका तर्फबाट समानुपातिकमा रहेका सिटौलाले प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने भन्दै समानुपातिक सूचीबाट उनको नाम झिकिएको छ।

कांग्रेस–राजपा–संघीय फोरमबीच गठबन्धन बनाउने कोसिस गरिए पनि धनुषा–३, महोत्तरी–२, सर्लाही–४ र पर्सा–४ मा सहमति हुन नसक्दा गठबन्धन नै नहुने सम्भावना बढ्दै गएको छ । सबैभन्दा चोटिलो मानिएको धनुषा–३ मा कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतो भिड्ने अन्तिम तयारीमा पुगेका छन् । गठबन्धनका बीचमा पटकपटक सो क्षेत्रमा एकअर्कालाई छाड्न आग्रह गरिए पनि दुवै नेताले मानेका छैनन् । राजपाले महतोलाई धनुषा–३ बाट उठाउने अन्तिम तयारी गरेको छ भने निधि पनि आफ्नो निर्वाचन क्षेत्र छाड्ने पक्षमा छैनन् ।

महतोको यसअघिको निर्वाचन क्षेत्रमा पहाडी समुदायको बाक्लो बसोबास भएकाले उनी सो क्षेत्र छाडेर धनुषा जान चाहन्छन् । राजपा धनुषा पनि महतोलाई सोही क्षेत्रमा ल्याउन चाहन्छ । सो क्षेत्रमा एमालेबाट रघुवीर महासेठ उठ्न सक्ने सम्भावना छ ।

त्यसो त राजपाका अर्का नेता शरत सिंह भण्डारीको निर्वाचन क्षेत्रबाट पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरणकुमारी यादव पनि प्रतिस्पर्धाको तयारी गर्दैछिन् । दुवै नेता उक्त क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार हुने भन्दै अडानमा छन् । एकअर्कालाई छाड्न तयार नभएपछि अन्ततः सो क्षेत्रवाट दुवैजना उम्मेदवार हुने देखिएको छ ।

सर्लाही–४ मा अमरेश सिंह र महन्थ ठाकुरबीच प्रतिस्पर्धा हुने देखिए पनि सो क्षेत्रमा अन्तिममा आएर मिलाउने काम भएको छ । समानुपातिक सूचीमा बसेर सिंहका लागि सर्लाही–४ बाट बाहिरिएका ठाकुर पुनः प्रत्यक्षतर्फ नै फर्केका छन । अब उनी महोत्तरी–३ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

उता राजपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण र कांग्रेस नेता रमेश रिजालको क्षेत्र पर्सा–४ मा पनि उत्तिकै प्रतिस्पर्धा देखिएको छ । कांग्रेस र मधेस केन्द्रित दल संघीय फोरम/राजपाको बीचमा मात्रै होइन, हाल गठबन्धन गरिरहेका संघीय फोरम र राजपाको बीचमा पनि सकस देखापरेको छ । सप्तरी–२, सिरहा–४ र महोत्तरी–४ मा दुवै दलले पाउनुपर्ने दाबी कायमै राखेका छन् ।

सप्तरी–२ बाट संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवको दाबी कायमै छ भने राजपाबाट भोगेन्द्र ठाकुरले पनि छाड्न मानेका छैनन् । यसले गठबन्धनमा सकस देखापरेको छ । यस्तै राजपा नेता राजकिशोर यादवलाई सिरहा–४ छाड्न फोरमले मानेको छैन । फोरमले उक्त क्षेत्रवाट डा. वीरेन्द्र महतोलाई उम्मेदवार बनाउन खोजिरहेको छ। ‘स्थानीय चुनावमा सिरहामा राजपाले एक स्थान पनि जित्न सकेको छैन, अहिले त्यसै दिन सकिन्छ ?’, फोरमका एक नेताले भने । महतोले यसअघि पनि प्रत्यक्षमा उम्मेदवारी दिएपछि माओवादी अध्यक्ष प्रचण्डका लागि उम्मेदवारी फिर्ता लिएका थिए तर अब छाड्ने पक्षमा उनी छैनन् ।

महोत्तरी–४ मा राजपा महासचिव देवेन्द्र यादव उठ्ने अन्तिम तयारीमा छन् तर संघीय फोरमले पनि त्यहाँ दाबी कायमै राखेको छ । फोरमले उक्त क्षेत्रवाट डा. शिवजी यादव वा कौशलकुमार यादवमध्ये एकलाई उठाउन खोजिरहेको छ । ‘सो क्षेत्रका बारेमा पनि अझै टुंगो लाग्न सकेको छैन,’ राजपाका पूर्वसांसद धर्मेन्द्रकुमार साह तेलीले बताए । उनका अनुसार दुवै दलको दाबी भएकाले सो क्षेत्र कसको भागमा पर्ने, टुंगिन गाह्रो देखिएको छ ।

वाम गठबन्धनमा अर्कोे चोटिलो क्षेत्र चितवन–२ पनि हो । सो क्षेत्रमा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र माओवादी नेता रामबहादुर थापाले दाबी गर्दै आएका छन् । यसअघि पोखरेलले निर्वाचन लडी विजयी भएको सो क्षेत्रमा थापाले पनि आँखा लगाएपछि चोटिलो बन्दै गएको छ । ‘सो क्षेत्र कसको भागमा पर्ने, अझै निक्र्यौल हुन सकेको छैन, छलफल जारी छ’, पोखरेलले भने।

चितवन–२ मा भरतपुर महानगरपालिकाका ९ वटा वडामध्ये ८ वडा एमालेले जितेको छ । सोही क्षेत्रमा पर्ने कालिका नगरपालिकामा मेयरउपमेयरसहित बहुमत एमालेको छ भने इच्छाकामनाको एउटा वडामा मात्रै माओवादीले जित हासिल गरेको छ । सो क्षेत्रमा माओवादीको भन्दा एमालेको मत १६ हजार ४४ ले बढी छ ।

यस्तै एमालेको कित्ताबाट बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान सिरहा–४ बाट प्रतिस्पर्धा गर्ने अन्तिम तयारीमा थिए । तर, अचानक एमालेले माओवादीसँग गठबन्धन गरिदिएपछि पासवानको इच्छा पूरा भएन । सो क्षेत्रमा माओवादीले उठाउन लागेका पूर्वमन्त्री अजयशंकर नायकलाई एमालेले समर्थन गर्ने भएको छ । ‘एमाले र ओलीजी मेरो उम्मेदवारीमा सकारात्मक नै हुनुहुन्थ्यो तर माओवादीसँग गठबन्धन गरेपछि मेरो बारेमा अडान लिइरहन सक्नुभएन, म अलग्गै हुनुपर्ने अवस्था आयो’, पासवानले भने । उनले अलग्गै बन्द सूची पेस गरेका छन् ।

यसअघि निर्वाचन क्षेत्रकै कारण नयाँ शक्ति नेपाल पार्टी दुई हप्ता नपुग्दै वाम गठबन्धनबाट बाहिरिएको थियो । मुख्यतः गोरखा–२ मा नयाँ शक्तिका बाबुराम भट्टराई कि माओवादीका नारायणकाजी श्रेष्ठ भन्ने विवाद परेपछि भट्टराई बाहिरिएका हुन् । दुवैले उक्त क्षेत्रमा दाबी नछाडे पछि अन्ततः गठबन्धन नै टुट्न पुगेको थियो ।

कहाँ-कहाँ क-कसका दाबीले सकस

एमाले–माओवादी
चितवन–२ : कृष्णभक्त पोखरेल/रामबहादुर थापा

कांग्रेस–राप्रपा गठबन्धन
झापा–३ : कृष्ण सिटौला/राजेन्द्र लिङदेन

फोरम–राजपा
सप्तरी–२ : उपेन्द्र यादव/भोगेन्द्र ठाकुर
सिरहा–४ : डा. वीरेन्द्र महतो/राजकिशोर यादव
महोत्तरी–४: डा. शिवजी यादव/देवेन्द्र यादव

कांग्रेस–राजपा
धनुषा–३ : राजेन्द्र महतो/विमलेन्द्र निधि
महोत्तरी–२ : शरत सिंह भण्डारी/किरणकुमारी यादव
सर्लाही–४ : अमरेशकुमार सिंह/महन्थ ठाकुर
पर्सा–४ : रमेश रिजाल/लक्ष्मणलाल कर्ण

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);