काठमाडौं, १३ कात्तिक । एकैदिन ५१ पूर्वसांसदले रातो पासपोर्ट फिर्ता गरेका छन् । आइतबार विभिन्न दलका पूर्वसांसदले संसद् सचिवालयमा पासपोर्ट फिर्ता गरेका हुन् । सरकारी गाडी प्रयोग गर्दै आएका १८ मध्ये तीनजना पूर्वपदाधिकारीले आइतबार नै गाडी फिर्ता गरेका छन् ।
‘संसद् सकिए पनि ५२९ पूर्वसांसदको हातमा रातो पासपोर्ट’ शीर्षकमा शनिबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि पूर्वसांसदले धमाधम पासपोर्ट बुझाउन लागेका हुन् । २८ असोजमा कार्यकाल सकिए पनि शनिबारसम्म ६२ जना सांसदले मात्र कूटनीतिक राहदानी रातो पासपोर्ट बुझाएका थिए ।
बाँकी ५२९ ले फिर्ता गर्न बाँकी थियो । आइतबार ४० पूर्वसांसदले संसद् सचिवालयमै आएर रातो पासपोर्ट फिर्ता गरेको र ११ जनाले परराष्ट्र मन्त्रालयमार्फत आफैँले निष्क्रिय बनाएको सूचना दिएको सचिवालयस्थित अन्तर्राष्ट्रिय शाखाले जनाएको छ ।
शाखाका अधिकृत विकास बोहराका अनुसार पूर्वसांसदले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयमार्फत निष्क्रिय बनाउन सक्नेछन् । तर, त्यसको जानकारी सचिवालयलाई गराउनुपर्छ ।
अझै ४१४ सांसदको हातमा रातो पासपोर्ट
संसद्को कार्यकाल सकिएको सात दिनभित्र आफूले प्रयोग गरेको सवारीसाधनलगायत सेवा–सुविधा फिर्ता गर्नुपर्ने संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनमा व्यवस्था छ । तर, संसद्को कार्यकाल सकिएको १५ दिन बितिसक्दा आइतबारसम्म ११३ सांसदले मात्र रातो पासपोर्ट फिर्ता गरेका छन् । सरकारी गाडी प्रयोग गरेका संसद्का २५ पूर्वपदाधिकारीमध्ये नौजनाले फिर्ता गरेका छन् ।
कार्यकाल सकिनै लाग्दा संसद्मा ५९१ सांसद थिए । जसमध्ये ६४ जना सरकारमा सहभागी छन् । संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले मन्त्री भएका ६४ जनाले रातो पासपोर्ट फिर्ता तत्काल गर्नुनपरे पनि अरूले फिर्ता गर्नुपर्ने बताए । ‘मन्त्रिपरिषद्मा सहभागी ६४ जनाले अहिले बुझाउने कुरा आउँदैन । अरू बाँकीले बुझाइरहनुभएको छ,’ उनले भने । सचिवालयका अनुसार अझै ४१४ पूर्वसांसदले रातो पासपोर्ट फिर्ता गर्न बाँकी छ ।
तीनजनाले फिर्ता गरे गाडी
चिनकाजी श्रेष्ठ -कांग्रेस प्रमुख सचेतक
गोकुल घर्तीमगर -एमाले सचेतक
डोरप्रसाद उपाध्याय -सार्वजनिक लेखा समिति सभापति
अझै १५ जनाले गाडी फिर्ता गरेका छैनन्
ओनसरी घर्ती -पूर्वसभामुख
गंगाप्रसाद यादव -पूर्वउपसभामुख
रेखा शर्मा -माओवादी केन्द्र प्रमुख सचेतक
कुन्तीकुमारी शाही -राप्रपा प्रमुख सचेतक
योगेन्द्र चौधरी -फोरम लोकतान्त्रिक प्रमुख सचेतक
जंगीलाल यादव -राजपा प्रमुख सचेतक
ईश्वरी न्यौपाने -कांग्रेस सचेतक
सीता नेपाली -माओवादी केन्द्र सचेतक
प्रकाश ज्वाला -अर्थ समिति सभापति
भीष्मराज आङदेम्बे -उद्योग वाणिज्य तथा उपभोक्ता समिति सभापति
मोहन बराल -कृषि तथा जलस्रोत समिति सभापति
गंगा चौधरी -सत्गौवा विधायन समिति सभापति
रञ्जुकुमारी झा -महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समिति सभापति
सुशीलकुमार श्रेष्ठ -सामाजिक न्याय तथा मानवअधिकार समिति सभापति
कुलबहादुर गुरुङ -संसदीय सुनुवाइ विशेष समिति सभापति
कृष्ण कट्टेलले आजको नयाँ पत्रिका पत्रिकामा खबर लेखेका छन् ।