बझाङ, १२ कार्तिक । मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बझाङमा चुनाबी चहलपहल बढेको छ । निर्वाचन आफ्नो पक्षमा पार्न नेपाली कांग्रेसले शनिबारदेखि नै घरदैलो अभियान सुरु गरिसकेको छ भने वाम गठबन्धनले आइतबारदेखि अभियान थाल्दै छ ।
घरदैलोमा पुगेका कांग्रेस उम्मेदवारहरुले बझाङको विकासको धेरै सम्भावना रहेको र जनताको नजिकमा रहेर काम गरेकाले आफूलाई विजयी गराउन बझाङबासीसँग आग्रह गरिरहेका छन् । आफ्नो जित भए जनचाहनाअनुसार विकास निर्माणका काम अघि बढाउने प्रतिबद्धता उनीहरुले जनाएका छन् ।
वाम गठबन्धनका उम्मेदवारले भने संविधान निर्माण र राष्ट्रियताको सवालमा नेकपा एमाले र माओवादीले कहिल्यै सम्झौता नगरेकाले आफूलाई जिताउन आग्रह गरेका छन् । एमाले र माओवादी मिलेर बन्ने स्थिर सरकारले अबको पाँच वर्ष विकास निर्माणलाई तीव्रता दिने भन्दै उनीहरुले जनतालाई आश्वस्त पारिरहेका छन् ।
प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लािग दुईवटा निर्वाचन क्षेत्र रहेको बझाङमा मंसिर १० गते हुने निर्वाचनमा एक लाख चार हजार दुई सय ७५ मतदाता सहभागी हुँदै छन् । एक सय ६० मतदान केन्द्र र एक सय २५ मतदान स्थल रहेको बझाङमा वामपन्थी र प्रजातान्त्रिक गठबन्धनसहित आठ दलले मनोनयन दर्ता गराएका छन् ।




