काठमाडौं । सेयर बजारको नियमक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले आफूलाई कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान ऐन, कानूनले नरोकेको स्पष्टिकरण दिएका छन् ।
सोमबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा समितिका सदस्यहरुले नियमक निकाय नेप्सेका प्रमुख आफैले किन गैरजिम्मेवार ढंगले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको भनी प्रश्न गरेका थिए ।
त्यसको जवाफ दिने क्रममा प्रमुख कार्यकारी अधिकृत साउँदले नेप्से प्रमुखको हैसियतमा कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान कानूनले आफूलाई नरोकेको जवाफ दिए ।
प्रमुख कार्यकारी अधिकृत साउँदले विभिन्न समाचार माध्यमहरुले सेयर कारोबारसम्बन्धी विद्यमान ऐन, कानूनको व्यवस्था नबुझी सर्वोच्च सिमेन्टको ओटिसी सेयर नियमक निकाय आफैले खरिद विक्री गरेको भनेर झूटा समाचार सम्प्रेषण गरेको दाबी समेत गरे ।
बैठकमा समितिका सदस्यहरुले सेयर बजारमा गैर कानूनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदा गराउँदै नेप्से जस्ता नियमक निकाय आफैले नैतिक प्रश्न समेत खडा हुने गरी ओटिसी सेयर कारोबारमा संलग्न भएको भन्दै आपत्ति जनाएका थिए ।
समितिका सदस्य रामकुमारी झाक्रीले सेयर बजारमा गैरकानुनी, अनैतिक गतिविधि बढाउन नदिन समितिले पटक पटक दिएको सुझावप्रति जिम्मेवार हुन नसकेको भन्दै नेप्सेको पदाधिकारीमाथि आक्रोश व्यक्त गरिन् । उनले आफैमाथि प्रश्न उठ्ने गरी गैर जिम्मेवार काम नेप्सेले गरेको भन्दै त्यसको छानबिन गरेर दोषीमाथि कारबाही गर्ने चेतावनी समेत दिईन् ।
समितिकी अर्का सदस्य निरादेवी जैरुले सेयर बजारका लगानीकर्ताप्रति जिम्मेवार बन्न नेप्सेलगायतका नियमक निकायलाई सचेत गराईन् । उनले नेप्सेजस्ता संस्थाहरुलाई नीति र विधि अनुसार चलेर सेयर बजारलाई स्वस्थ ढंगले अघि बढाउन आग्रह गरिन् ।
अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेप्सेलगायतका नियमक निकायहरु आफैले सेयर बजारमा खेल खेलेको भन्दै त्यसलाई रोक्नका लागि आवश्यक कानूनी व्यवस्था गर्ने चेतावनी दिए । उनले रेफ्री खेलमा सहभागी हुन नहुने व्यवस्था भएपनि सेयर बजारमा त्यो नियम उलंघन गर्ने काम गरिएको भन्दै आपत्ति जनाए ।