एजेन्सी । अफगानस्तिानको विद्रोही समूह तालिबानले महत्वपुर्ण रणनीतिक मानिएको अफगान सहर घज्नीमाथि कब्जा गरेको छ । बिहीबार तालिबानले राजधानी काबुलबाट १ सय ५० किलोमिटरको दूरीमा रहेको घज्नी सहरमा कब्जा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
योसँगै तालिबानले अफगानीस्तानका ३४मध्ये १० वटा प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ । तालिबानले घज्नीको गर्भनर कार्यालय, प्रहरी मुख्यालय र जेल कब्जा गरेको बताइएको छ । उनीहरुले जेलमा रहेका बन्दीहरुलाई समेत छुटाएका छन् । तालिबानले समेत सामाजिक सञ्जालमा वक्तव्य जारी गरेर सहर नियन्त्रणमा लिएको दावी गरेको छ ।
घज्नी नियन्त्रणमा लिएपछि तालिबानले काबुलमाथि कब्जा गर्ने रणनीति अझ बलियो भएको विश्लेषण गरिएको छ । तालिबानले ९० दिनभित्र काबुलमाथि पकड जमाउन सक्ने सम्भावना रहेको अमेरिकी गुप्तचर अधिकारीहरुले बताइसकेका छन् ।
तालिबानले आक्रमण बढाउँदै गएपछि अफगानिस्तानले सेना प्रमुख पनि परिवर्तन गरेको छ । अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हिबतुल्लाह अलिजइलाई जिम्मेवारी दिइएको छ ।
अमेरिकी र अन्य विदेशी सेनाले २० वर्षपछि अफगानिस्तान छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको समयमा नवनियुक्त सैन्य प्रमुखलाई विद्रोही गतिविधिलाई परास्त गर्नुपर्ने चुनौती रहेको छ ।




