राष्ट्रिय सभा शून्य समय : कांग्रेस सरकारले कालापानी भूभाग फिर्ता ल्याउनु पर्नेदेखि विना पूर्वतयारी १२ को परीक्षा स्थगितसम्म | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

राष्ट्रिय सभा शून्य समय : कांग्रेस सरकारले कालापानी भूभाग फिर्ता ल्याउनु पर्नेदेखि विना पूर्वतयारी १२ को परीक्षा स्थगितसम्म

काठमाडौं । राष्ट्रिय सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् ।

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नेपाली कांग्रेसको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमि फिर्ता गर्न माग गरेकी छन् । उनले विगतको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमिबारे कुटनीतिक पहल नगरेकोले भूमि फिर्ता हुन नसकेको भन्दै यो सरकारले भूमि फिर्ता गर्नुपर्ने बताईन् ।

राष्ट्रिय सभा सदस्य इन्दु कडरीयाले जनताले पाउने सामाजिक सुरक्षा भत्तामा विभेद भएको औंल्याईन् । सामाजिक सुरक्षा भत्ता दिँदा परिवारको आर्थिक सूचांक हेरेर भत्ता दिनुपर्ने उनको तर्क थियो ।

राष्ट्रिय सभा सदस्य उदय शर्मा पौड्यालले पूर्व तयारी बिना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गरेको बताए । उनले परीक्षा एकाएक स्थगित हुँदा विद्यार्थीको मनोविज्ञानमा असर परेकोमा उनले जोड दिए । बिस्तृत अध्ययन बिना हठातमा परीक्षा स्थगन गर्नुनहुने उनको तर्क थियो ।

अर्का सदस्य खिमलाल देवकोटाले दुईतिहाइ जनमतको कदर गर्न नसकेको नेकपा एमालेको सरकारले पार्टीका पुराना नेताहरुको मान मर्दन गरेको आरोप लगाए । उनले नेपाली भूमि दार्चुला हुँदै मानसरोवर जाने बाटो एकतर्फी हुँदै भारतले सनर्माण गरिरहँदा पनि केही नबोलेको बारेमा जनतालाई उत्तर दिनुपर्ने माग गरे ।

त्यसैगरी सदस्य चक्रप्रसाद स्नेहीले डडेल्धुरामा हलिया मुक्तहरुले २०७६ सालमा दिने भनिएको आवास खरिदको रकम अझै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले ५६ घरधुरीले ३ लाख २५ हजार पाउने भनेपनि २ लाख २५ हजार मात्रै पाएको गुनासो गरे ।

राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रसाद पुरीले भू उपयोग ऐन २०७६ पारित गरेपनि कार्यान्यन नभएको गुनासो गरे । उनले उक्त ऐनलाई अविलम्ब कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले कञ्चनपुरको भीमदत्त नगरपालिकामा मनलाग्दी शिक्षक नियुक्ति र सरुवा कार्य भईरहेको बताईन् । उनले शिक्षक संघले अनसन बसेको २५ दिन पुग्दा समेत सरोकारवाला निकायको ध्यान नगएको भन्दै त्यसको सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराईन् । उनले नगरपालिकाले बनाएको कार्यदल संवाद समितिले दिएको प्रतिवेदन विपरित् छानिछानि शिक्षकलाई दुःख दिने गरेको आरोप समेत लगाईन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);