बिमल क्षेत्री,
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकारलाई सहयोग गर्ने बताएका छन् । उनले अब आउने नेतृत्वलाई सहयोग गर्न मन्त्रालयका सचिव तथा मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई आग्रह पनि गरेका छन् ।
राजीनामा दिएपछि पोखरलले कर्मचारीसँगको अन्तिम भेटमा प्रदेश सरकारले हालसम्म गरेका कामहरुको फेहरिस्त सुनाएका थिए । उनले आफ्नो कार्यकालमा सरकारले सडक पूर्वाधार, खानेपानी, शैक्षिक क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको दावी गरे ।
सरकारले हालसम्म हासिल गरेका कामहरुले आउने नेतृत्वले पछ्याउन मिल्ने गरी खाका तयार पारेको उनले बताए । पोखरेलले लुम्बिनी प्रदेश राजधानीलाई नमुना बनाउने सपना अधुरै छाड्नुपरेको पनि बताएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले पत्रकारहरुसँग कुराकानी गर्दै प्रदेश प्रमुखले संविधानलाई कुल्चिएर अविश्वासको प्रस्ताव आएकाले संविधानको रक्षा गर्नको लागि मुख्यमन्त्रीले पदबाट राजिनामा दिएको बताएका छन् ।