काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाका सम्बन्धमा निर्णय लिने विश्वास दिलाएका छन् ।
परीक्षा स्थगित गर्ने विषयमा प्रधानमन्त्री देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्न विश्वास दिएको नेपाली कांग्रेस नेता गगन थापाले जानकारी दिएका छन् ।
थापाले शनिबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराएको हो । शुक्रबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै तहको परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखी परीक्षा स्थगित गर्नका लागि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराएका थिए ।
नेता थापाले शुक्रबार प्रधानमन्त्री देउवासँग भएको भेटमा स्वास्थ्य मन्त्रालयको सिफारिसका बारेमा छलफल गर्दै परीक्षा स्थगित मात्र नभई विद्यार्थीलाई अलमलमा नपर्ने गरी विकल्प सहितको निर्णय गर्न आग्रह गरेको उनले जानकारी दिए । यसै विषयमा प्रतिक्रिया दिंदै प्रधानमन्त्रीले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिएका हुन् ।
उनले लेखेका छन्–‘‘ हिजो प्रधानमन्त्रीज्यू संगको भेटमा अन्य कुरासँगै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गर्न आग्रह गरेका छौं।प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।