एजेन्सी । भारत र चीनबीच पूर्वी लद्दाखको गोगरा क्षेत्रमा लामो समयदेखि जारी सैन्य गतिरोध अन्त्य भएको छ ।
दुई देशबीच पूर्व लद्दाखको चुसुल मोल्दो मिटिङ प्वाइन्टमा १२ औँ दौरको कोर कमान्डर स्तरको वार्तामा दुवै पक्ष यस क्षेत्रबाट पछि हट्ने सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
भारतीय सेनाले यस घटनाक्रमबारे विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रमा बनाइएको अस्थायी ढाँचा भत्काइएको बताएको छ । विज्ञप्तिमा दुवै पक्षको बीच भारत–चीन सीमाको पश्चिमी क्षेत्रमा वास्तविक नियन्त्रण रेखामा पछि हट्ने मुद्दाको समाधानमा गहिरो विचार विमर्शपछि दुवै पक्ष गोगरा क्षेत्रबाट पछि हट्न तयार भएको उल्लेख छ ।
यस क्षेत्रमा गत वर्षको मे महिनादेखि दुई देशका सेना आमनेसामने थिए । सम्झौता अन्तरगत दुवै पक्षले चरणबद्ध र समन्वित ढंगले यस क्षेत्रमा अग्रिम तैनाथी बन्द गरेका छन् । पछि हट्ने प्रक्रिया पुरा भएर अहिले दुवै पक्षका सेना आ–आफ्नो स्थायी ठेगानामा फर्किएको बताइएको छ ।
योसँगै दुवै पक्षले उक्त क्षेत्रमा बनाएको सबै अस्थायी ढाँचा र अन्य सहयोगी भौतिक संरचना भत्काएका छन् ।