काठमाडौं । राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद अनिता देवकोटाले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा भारतको उच्च तहसँग छलफल गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद देवकोटाले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले भारत सरकारसँग सम्वाद गर्नुपर्ने बताएकी हुन् । उनले यस घटनाको खोजी, अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न भारतको उच्च तहसँग छलफल गर्नुपर्ने बताईन् ।
आगामी दिनमा यस्तो घटना नघटाउनको निम्ति सरकारले भारत सरकारको प्रतिवद्धता लिनुपर्नेमा पनि उनको जोड छ । उनले भनिन् – ‘जयसिंह धामीको तुइन काटेर बेपत्ता भएको घटनालाई भारतसँग सम्वाद गरोस् । आफ्ना नागरिकको न्यायिक पक्षमा याथाशिघ्र सरकारले खोजी, अनुसन्धान र सत्यतथ्य सार्वजनिक गर्न सकोस् । जयसिंह धामीका परिवारलाई उचित क्षति र राहतको व्यवस्थापन गरोस् । र भारतको उच्च तहसँग छलफल गरेर दोषीलाई कानूनी कारबाहीमा ल्याउने प्रयत्न गरोस् । अबदेखि यस्ता घटना नदोहोरिनको लागि भारतसँग प्रतिवद्धता लिन सकोस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । सदरमुकाम आउनकालागि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतालाई सधैभरीका लागि अन्त्य गर्न सरकारसँग म आग्रह गर्न चाहान्छु ।’
सांसद देवकोटाले मुलुक कोभिड १९ संक्रमणबाट आक्रान्त भएको भन्दै सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न र कम आय भएका नागरिकलाई आर्थिक राहत प्याकेज ल्याउन ध्यानाकर्षण पनि गराईन् । उनले भनिन् – ‘अहिले मुलुक कोभिडबाट आक्रान्त छ । सबै नागरिकलाई खोपको सुनिश्चितता त्यसैगरी उद्योगधन्दा र कम आय भएका व्यक्तिहरु धेरै प्रभावित छन् । विभिन्न वर्गलाई आर्थिक राहतका प्याकेजहरु ल्याएर सरकारले यथाशिघ्र यो कोभिडको मारमा परेका नागरिकहरुलाई अभिभावकत्व प्रदान गरोस् भनेर म भन्न चाहान्छु ।’
सांसद देवकोटाले कोभिड संक्रमणको तेस्रो लहर आउने सम्भावनाको उल्लेख गर्दै त्यस विरुद्ध जुध्ने सामथ्र्यको सुनिश्चितता गर्न पनि सरकारलाई ध्यानाकर्षण गराईन् ।