राष्ट्रिय सभाको शून्य समय : मनकला खत्री र निर्मला हत्याकाण्डका दोषीलाई सजायको माग | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

राष्ट्रिय सभाको शून्य समय : मनकला खत्री र निर्मला हत्याकाण्डका दोषीलाई सजायको माग

काठमाडौं । राष्ट्रिय सभाको बुधबारको बैठकमा राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले रकुम पश्चिमको त्रिवेणीमा २५ वर्षीया मनकला खत्रीको अज्ञात समुहले वलात्कार पछि हत्या गरेकोले दोषीलाई कारबाही गर्न माग गरिन् । उनले भनिन् – ‘रुकुम पश्चिमको त्रिवेणी वडा नं. ४ छहरे बस्ने २५ वर्षीय मनकला खत्रीलाई अज्ञात समुहले घाँस काट्न गएको बेला वलात्कार गरेर हत्या गरेको छ । यसको उचित छानविन गरी उचित न्यायको निमित्त सरकार सँग माग गर्दछु ।’

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वर्तमान सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले धेरै विद्यालयहरु लाभान्वित भएको भएपनि वर्तमान सरकारले सो कार्यक्रम अन्र्तगतको रकम रोक्न लागेको भन्दै त्यसो नगर्न सचेत गराईन् । उनले भनिन् – ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगतको रकम सरकार फेरिएसँगै त्यो रकम खर्च नहुने हो कि भन्ने कुरा सबैतिर शंकाको विषय रह्यो ।’

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले देशमा धेरै घरेलु श्रमिक रहेको र उनीहरुलाई कोभिड १९ को जोखिम रहेको भन्दै वडा तहमा घरेलु श्रमिकको पञ्जिकरण गरी परिचय पत्र दिन र कोभिड १९ विरुद्धको खोप दिन अनुरोध गरिन् । उनले भनिन् –‘हाम्रो देशमा घरेलु श्रमिकको धेरै ठुलो जमात छ र घरेलु श्रमिक औपचारिक, अनौपचारिक कुनैपनि क्षेत्रमा देखिनु हुन्न । उहाँहरुले काम गर्ने वातावरण पनि प्राय जोखिमपूर्ण नै हुन्छ । अहिलेको यो कोभिड १९ को महामारीमा जोखिम झन बढेको छ । त्यसले गर्दा संघीयता सम्बन्धी हेर्ने मन्त्रालयले वडा स्तरमा घरेलु श्रमिकको पञ्जिकरण गर्ने, उनीहरुलाई परिचयपत्र दिने र खोप लगाउनको लागि प्राथमिकताको साथ काम गरोस् भनेर म अनुरोध गर्न चाहान्छु ।’

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले निर्मला हत्याकाण्डका दोषी पत्ता किन लागेनन् भनी प्रश्न गरिन् । उनले यो घटना रहस्यमय भएको भन्दै दोषीलाई छानविन गरी जन्मकैदको सजाय हुनुपर्ने माग गरिन् । उनले भनिन् –.‘नेपाल सरकारलाई दबाब र अनुरोध गर्दछु कि निर्मला हत्याकाण्ड किन बाहिर आउँदैन ? यसको के रहस्य छ ? नेपालका दिदीबहिनी, चेलीबेटी धेरै बेहालमा छन् । गरिबकै छोरी भएकाले पत्ता नलागेको हो कि ? माग गर्न चाहान्छु यो रहस्यमय भयो, यदी पत्ता लागिहाल्यो भने ति दोषीलाई छानविन गरी जन्मकैदको सजाय होस् भन्ने माग गर्दछु ।’

राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरे । उनले भने – ‘नागरिकताको विधेयकलाई जतिसक्यो छिटो पारित गर्नेगरी प्रक्रिया अगाडी बढाउन सम्माननीय अध्यक्षज्यूमार्फत् सम्बन्धीत निकाय र अधिकारीहरुको ध्यानाकर्षण गराउँदछु ।’

जनगुनासो र राष्ट्रियताको संरक्षण हुनेगरी विधेयक पास गराउनुपर्नेमा उनको जोड छ ।

Leave a Reply