काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर संचालनमा आएको छ । साउन १ गते शुक्रबार एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले रिबन काटेर नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए । प्रविधिलाई प्रयोग गर्दै इन्टरफेशलाई घटाउनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अहिलेको चरणमा आइपुगेका उनको भनाई छ । फिजिकली इन्टरफेशलाई जति घटाउन सक्यो त्यति सशक्त हुँदै जाने बताउँदै अध्यक्ष सिलवालले यसबाट समयको वचतसँगै इमान्दार व्यवसायिक प्रयास भएको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीसँग पटक पटक विवरण माग्नुपर्ने र सही विवरण आउन नसक्ने भएकोले सही विवरण दिने प्रयत्नले नयाँ सफ्टवेयर नयाँ सर्भर ल्याएको बताए ।
बीमकहरुबाट समितिलाई पठाउनुपर्ने महत्वपूर्ण तथ्यांकहरु उपलब्ध गर्ने कार्य कठिनाई भएकोले समग्र बीमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाहरुलाई काम छिटो, छरितो रुपमा सम्पन्न गर्न सूचना प्रविधिको प्रयोग गरी समितिको संस्थागत तथा बीमा व्यवसायसँग सम्बद्ध बीमा नियमनकारी व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्न नयाँ सर्भर र सफ्टवेयर जडान गरिएको समितिले जनाएको छ ।
समितिमा अब कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगायतका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभइ सफ्टवेयरबाट नै अनलाइन माध्यमबाट तपशील बमोजिम दैनिक, मासिक, त्रैमासिक, वार्षिक रुपमा पेश गर्न सक्नेछन् ।
यसमा कानुन, उजुरी, नियमन, नीति विश्लेषण, परिपालन, दाबी तथा सम्पत्ती शुद्धिकरण, बीमालेख तथा बीमाङ्की, अण्डराइटिङ, वित्तीय लेखा परीक्षण, सूचना प्रविधि सम्बन्धी विवरणहरु प्राप्त गर्नेछन् ।