काठमाडौँ। एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको शनिबारको सडक प्रदर्शन स्थगित भएको छ ।
एमाले एकता कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेको भन्दै युवा संघ नेपालले सडक प्रदर्शन नगर्ने भएको हो । अपरान्ह ३ बजे युवासंघको कार्यलय नयाँ बानेश्वरदेखि माइतीघरसम्म निर्वाचनको पक्षमा मार्चपास गर्ने कार्यक्रम तय भएको थियो ।
एमाले एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ। शनिबार साँझसम्म शीर्ष नेताहरूबीचको छलफलपछि एमाले एक रहेको सन्देश दिने तयारी भइरहेकाले सडकमा प्रदर्शन नगर्न कार्यदलका नेताहरूले निर्देशन दिएको बताइएको छ ।
कार्यदलमा एक अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका कुनै पनि प्रदर्शनहरू नगर्ने अनौपचारिक सहमति भएको थियो। युवासंघको मार्चपास भोलि लागि सारिएको बताइएको छ ।