बागवानी विषयमा लोकसेवा सुनिश्चितता गर्नुपर्ने माग गर्दै इलामका विद्यार्थी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

बागवानी विषयमा लोकसेवा सुनिश्चितता गर्नुपर्ने माग गर्दै इलामका विद्यार्थी

टीका खतिवडा,
इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस बिएस्सी हर्टिकल्चर (बागवानी) विषयका विद्यार्थीहरू लोकसेवा सुनिश्चित हुनुपर्ने माग सहित आन्दोलित भएका छन् । बिएस्सी हर्टिकल्चर(बागवानी)का विद्यार्थीले मापदण्ड पुगेका कृषि सेवा समूह बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकासमा लोकसेवाको सुनिश्चितता हुनुपर्ने माग सहित विद्यार्थी आन्दोलित भएका हुन् ।

पहिलो चरणको आन्दोलन अन्तर्गत विद्यार्थीहरु एक साताको रचनात्मक आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले मापदण्ड पुगेका विषयहरुमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट एमएस्सी एग्रिकल्चर गर्न पाउनुपर्ने माग अघि सारेको विद्यार्थी महिमा गौतमले बताएकी छन् ।

उनीहरुले पोस्टर प्रदर्शनी, बालुवामा पानी खन्याउने, कालो ब्यानरमा आफ्ना मुद्दा लेखेर गेटमा राख्ने, कालो पट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, दिउँसै मैनबत्ती बालेर सम्वन्धित निकायको ध्यानाकर्षण गराउने लगायतका कार्यक्रम गर्दै आएका छन् । हालसम्म अध्यन गरेका बिषयमा लोकसेवा नखुल्दा अध्यन र लगानी बालुवामा पानी झैँ भएको उनीहरुको गुनासो छ । विद्यार्थीहरु हाल बागबानी संघर्ष समिति नै बनाएर आन्दोलनमा रहेका हुन् । पाँच बिषयमा अध्यापन भएपनि एउटा बिषयमा मात्र लोकसेवा खुल्ने गरेको संघर्ष समितिका संयोजक एलिजा घिमिरेले बताए ।

विद्यार्थीले ४ वर्षसम्म गरेको लगानी बालुवामा पानी खन्याएको जस्तै हुने भएकाले विरोध स्वरुप बालुवामा पानी खन्याउने गरिएको उनीहरुले बताएका छन् । बागवानीमा बिएस्सी गरेका सबैले बागवानीसँगै कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान, बाली विकासमा पनि लोकसेवा दिन पाउनुपर्ने मुख्य माग राखेका छन् ।

यो समस्या पहिला देखिकै भएपनि हालसम्म माग सुनुवाइ नभएको उनीहरुको दुखेसो छ । ४ ब्याच अध्यन भइसक्दा समेत कसैले चासो नदेखाएको विद्यार्थी सुरेन्द्र विष्टले बताए ।

कृषि तथा वन विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हो । विद्यार्थीहरुको मागप्रति क्याम्पसले चासो लिएपनि यहाँबाट समस्या समाधान हुन नसक्ने क्याम्पस प्रमुख डिएन फुएलको भनाई छ । कृषि मन्त्रीले चासो दिए मात्र समस्या समाधान हुने उनको तर्क छ ।

क्याम्पसमा हालसम्म २ सय २८ जनाले बागवानीमा बिएस्सी गर्दैछन् भने १ सय २० जनाले अध्ययन सकेका छन् । १ सय ८ जना अहिले अध्ययनरत छन् भने यस वर्ष नयाँ भर्ना हुन कोही पनि आएनन् । लोकसेवा सुनिश्चित नभएकाले नयाँ भर्ना हुन विद्याथीै नआएका हुन् । यहाँ अध्ययन गर्न देशभरीबाट विद्याथीहरु आउने गरेपनि यस वर्षबाट विद्यार्थी भर्ना हुन आएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);