काठमाडाैं । राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाउनुभएको हो । आजबाट हुने आठौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।
अधिवेशनमा विधेयकका साथै समितिका प्रतिवेदन तथा संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ । मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकता र बाध्यतामै सिमित हुने संभावना छ ।
अघिल्लो पटक संसद विघटन गर्दा बेलाईएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै सिमित भएको थियो । राष्ट्रिय सभामा हाल १९ वटा विधेयक रहेका छन् ।
कोरोना संक्रमणको अवस्थालाई ध्यान दिएर बैठकमा सहभागी हुने सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार संकलनका लागि जाने पत्रकारहरुको एन्टिजेन परिक्षण गरिएको छ ।