काठमाडाैं । अब सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानबाट मात्रै कोरोना भाइरस (कोभिड–नाईन्टिन) संक्रमितको निःशुल्क उपचार गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन व्यवस्थापन केन्द्रका प्रमुख डा. समीर कुमार अधिकारीले मेडिकल कलेजलाई परिपत्र गर्दै यस बारे उल्लेख गरेका छन्।
‘कोभिड–१९ उपचारकालागि तोकिएका सरकारी तथा सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालहरू मध्ये अब उपरान्त सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरूलाई मात्रै कोभिड–१९ उपचारको अस्पतालका रूपमा तोकी सेवाप्रवाहको व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ,’ परिपत्रमा भनिएको छ।
सरकारले यसअघि विभिन्न मेडिकल कलेजसँग सम्झौता गरी संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो। मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजमा असार १४ गतेसम्म भर्ना भई उपचाररत संक्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोध भर्ना उपलब्ध गराइने जनाएको छ।
साथै मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजलाई संक्रमितको उपचारमा सरकारले तोके भन्दा बढी शुल्क नलिन आग्रह समेत गरेको छ।